नेपाल नर्सिङ संघमा सत्तारूढ दल नेकपा (एमाले) र प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)निकट गठबन्धनको प्यानलै विजयी भएको छ।
संघको शुक्रबार भएको एमाले र माओवादीनिकटको गठबन्धनले चन्द्रकला शर्माको नेतृत्वमा प्यानल घोषणा गरिएको थियो।
यस्तै सत्तारूढ नेपाली कांग्रेस र प्रतिपक्षी नेकपा (एकीकृत समाजवादी) निकटबीच पनि गठबन्धन भएको थियो। उक्त गठबन्धनबाट एकीकृत समाजवादीनिकट गंगाकुमारी थापा नेतृत्वमा प्यानल घोषणा गरिएको थियो।
एमाले र माओवादी निकटले गठबन्धन गरेपछि एमाले निकट बसन्ती थापाले बागी उम्मेदवार दिएकी थिइन्।
निर्वाचन परिणामअनुसार एमाले-माओवादी निकट गठबन्धनबाट शर्मा नेतृत्वको संयुक्त प्रगतिशील समूहको प्यानलै विजयी भएको हो।
शर्माले दुई हजार १५० मत प्राप्त गर्दा प्रतिस्पर्धी गङ्गाकुमारी थापाले १ हजार ३७० र बसन्ती थापाले २८२ मत प्राप्त गरिन्।
वरिष्ठ उपाध्यक्षमा रमेश सुब्बा दुई हजार ६० मत ल्याएर विजयी हुँदा प्रतिस्पर्धी कल्पना श्रेष्ठ जोशीले एक हजार ५९७ मत प्राप्त गरिन्।
यसैगरी, उपाध्यक्षमा बबिता घिमिरे २ हजार ११ मत ल्याएर विजयी हुँदा प्रतिस्पर्धी मनिषा कोइरालाले १ हजार ५७० मत प्राप्त गरिन्।
महासचिवमा डा. देवकाकुमारी आचार्य एक हजार ७३३ मतसहित विजयी भइन् भने प्रतिस्पर्धी मीनाकुमारी कार्कीले एक हजार ३४७ र जानकी धामीले ६२२ मत प्राप्त गरिन्।
सचिवमा दुई हजार ९० मत प्राप्त गरी बेली पौडेल निर्वाचित हुँदा प्रतिस्पर्धी जया मिश्राले एक हजार ५७३ मत प्राप्त गरिन्।
कोषाध्यक्षमा तुलसादेवी अधिकारी दुई हजार १८८ मत ल्याएर विजयी भइन् भने प्रतिस्पर्धी रमादेवी पहारी (ज्ञवाली)ले एक हजार ४८२ मत ल्याइन्।
यसैगरी, खुल्ला सदस्यमा मेनुका पोखरेल विजयी भइन् ।
आदिवासी/जनजातितर्फ कला बस्याल गुरुङ र हरिप्रसाद कोजु, दलिततर्फ कोपिला विश्वकर्मा, मधेशी/मुस्लिमतर्फ पासपति जैसवाल र सवेनाज बेगम, अनमीतर्फ जानुका मोक्तान र शान्तिकुमारी विश्वकर्मा विजयी भइन्।
नेपाल नर्सिङ परिषद सदस्यतर्फ राजदेवी अधिकारी घिमिरे, सुमिता पाठक र राधादेवी आचार्य विजयी भए।