नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले निजामती कर्मचारी र राजनीतिकर्मीले आफ्नो भूमिका र जिम्मेवारीप्रति इमान्दार हुनुपर्ने बताएका छन्।
नेपाल निजामती कर्मचारी युनियन, विभागीय कार्यसमिति सर्वोच्च अदालतको नवौं अधिवेशनमा बोल्दै महरले सबै आ-आफ्नो जिम्मेवारी पूरा गर्नुपर्नेमा जाेड दिएका हुन्।
‘देश विकास र समाज सेवाका लागि हाम्रा सबैले आ-आफ्नो जिम्मेवारीलाई इमान्दारीपूर्वक लिन आवश्यक छ। कर्मचारीहरूले मात्र तलब पाउने उद्देश्य राखेर काम गर्ने र राजनीतिकर्मीहरूले भोट मात्र खोज्ने सोचाइले देशलाई अगाडि बढाउन सक्दैन,’ उनले भने।
महरले राजनीतिक नेतृत्व र निजामती कर्मचारीबीचको सहकार्यले मात्र सुशासन र विकास सम्भव हुने बताए।
‘राजनीतिकर्मीहरूले नीति निर्माणमा आफ्नो ध्यान केन्द्रित गर्नुपर्छ र कर्मचारीहरूले ती नीतिहरूलाई प्रभावकारी ढंगले कार्यान्वयन गर्नुपर्छ। त्यसैमा मात्र देश र जनताले समृद्धिको अनुभूति गर्न सक्छन्,’ उनले भने।
साथै महरले निजामती ऐन सबैको साझा विषय भएकाले सबैको हल्लाह र सहकार्यमार्फत् थप समृद्द बनाउनुपर्ने कुरामा समेत जोड दिए।