उपप्रधानमन्त्रीसमेत रहेका सहरी विकास मन्त्री प्रकाशमान सिंहले व्यवस्था परिवर्तन भएसँगै विकासकाे काम पनि अघि बढेको बताएका छन्।
चितवनमा शुक्रबार नेशनल सिटी अस्पतालकाे भवन उद्घाटन गर्दै उनले व्यवस्था परिवर्तन भयाे, अवस्था उस्तै छ भनेर गलत भाष्य बनाउन खाेजिएकाे बताए।
`केही पनि भएकाे छैन भनेर यहाँ जुन भाष्य बनाउन खाेजिएकाे छ, ०४६ पछाडी जन्मिएकाे पुस्तालाई त्याेभन्दा अगाडि कस्ताे थियाे थाहा नहुन सक्छ। आफ्नै बुबाहरूसँग, अघिल्लाे पुस्तासँग साेध्न सकिन्छ,´ उनले भने, `व्यवस्था मात्रै परिवर्तन भएकाे छैन, विकासकाे काम पनि भएकाे छ। सामाजिक आर्थिक क्षेत्रमा पनि धेरै परिवर्तन भएकाे छ।´
परिवर्तनकाे आभास हरेक नागरिकमा पुर्याउन केही समय लाग्ने भन्दै उनले त्यसका लागि सरकारले काम गरिरहेकाे पनि बताए।
उपप्रधानमन्त्री सिंहले प्राप्त अधिकारलाई सुरक्षित गर्दै अब देशलाई विकासकाे बाटाेमा लैजान सबै लाग्नुपर्ने बताए।