प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र चीनबीचका सम्बन्धमा बौद्ध धर्म एक चम्किलो धागोका रुपमा रहेको बताएका छन्।
नवौं नानहाई बौद्ध सम्मेलनको काठमाडौं फोरमलाई शुक्रबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले उक्त धागोले हाम्रा दुई राष्ट्रहरूको आध्यात्मिक संस्कृतिलाई बुन्ने र सद्भाव र समझदारीको दिगो बन्धनलाई बढावा दिने बताएका हुन्।
'नेपाल चीन केवल सीमाभन्दा बढी धेरै विषय आदान प्रदान गर्छन् । हामी हाम्रो इतिहासको अविष्मरणीय कालखण्ड, हाम्रा पहाडहरूको भव्य आलिंगन, हाम्रा नदीहरूको जीवनदायी प्रवाह र हाम्रा संस्कृतिहरूको गहिरो र समृद्धिको बन्धनमा बाँधिएका छौं,' प्रधानमन्त्री ओलीले भने।
नेपाल र चीनबीच इतिहासदेखि नै असल मित्रता रही आएको पनि प्रधानमन्त्री ओलीले बताए।
'यो सम्मेलनले मित्रतालाई गहिरो बनाउनेछ, आपसी सिकाइलाई प्रसारित गर्नेछ र नेपाल, चीन र त्यसभन्दा बाहिरका बौद्ध समुदायहरूबीच शान्ति, करुणा र सहयोगका शाश्वत मूल्यहरूको वकालत गर्नेछ भन्ने मैले विश्वाश लिएको छु,' प्रधानमन्त्री ओलीले भने।
चीनमा नेपाली शैलीका बौद्ध मन्दिरहरूका वास्तुशील्प चमत्कारहरू र लुम्बिनीमा झोङ हुआ चिनियाँ बौद्ध मठको भव्यताले यो दिगो सम्बन्धको लागि शाश्वत स्मारकहरूको रूपमा खडा रहेको पनि उनले बताए।
नेपालमा बौद्ध अध्ययनका लागि समर्पित ज्ञानको एक प्रकाशस्तम्भ, लुम्बिनी बौद्ध विश्वविद्यालय र चीनको नानहाई बौद्ध एकेडेमी बीचको सहयोगात्मक संलग्नताले साझेदारी र साझा आकांक्षाको भावनालाई उदाहरण दिएको प्रधानमन्त्री ओलीले जनाउनुभयो ।