नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भूसालले नेपाली कांग्रेस र नेकपा (एमाले) बीचको अहिलेको संयुक्त सरकारले जे गरे पनि मुलुकका समस्याहरू समाधान नहुने बताएका छन्।
पार्टी स्थायी कमिटीमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा महासचिव भूसालले ती पार्टी र खासगरी नेतृत्वका कारणले संकटको दुश्चक्रलाई समाधान गर्न नसक्ने निष्कर्ष निकालेका हुन्।
‘अहिले एमाले र कांग्रेसको सरकार बनेको छ। ती पार्टी र खासगरी नेतृत्वका कारणले गर्दा यसले सङ्कट दुश्चक्रलाई समाधान गर्न सक्दैन,’ भूसालले प्रतिवेदनमा लेखेका छन्‚ ‘संसदीय मूल्यका हिसाबले यिनीहरु दुई ठूला पार्टीहरू मिलेर बनेका छन्, विचारका हिसाबले समाजवादी र पुँजीवादी हुन्, राजनीतिक हिसाबले अदालतको परामादेशद्वारा सरकारमा पुर्याइएको र सरकारबाट निकालिएको पार्टी हुन्, प्रवृत्तिका हिसाबले सत्ताका लागि जेसुकै गर्न तयार नेताहरू हुन्। जसले गर्दा यिनीहरुबाट मुलुकका समस्याको समाधान हुने कुनै सम्भावना छैन। यिनका भूराजनीतिक लगावका कारण पनि त्यो गर्न सक्दैनन्।’
भूसालले कांग्रेस र एमालेले अगाडि सारेको संविधान संशोधनको मुद्दाले राजनीतिक अन्तरविरोधलाई अझ बढाउने निष्कर्ष आफ्नो प्रतिवेदनमा लेखेका छन्।
‘अब यिनीहरूले जेसुकै गरे पनि समस्या बढ्दै जानेछ‚’ भूसालको प्रतिवेदनमा उल्लेख छ‚ ‘सत्ताको विरोध अझ बढ्छ, सत्ता गठबन्धनले विरोधको जबाफ दमन र षडयन्त्रबाट दिने प्रयत्न गर्छ। त्यसले पपुलिष्ट अराजकतालाई अझ बढाउने छ। अराजकता र दमन बढ्दै जानेछ र मुलुक अझै डरलाग्दो अराजकताको खाडलतर्फ जान सक्छ।’
पूर्णपाठ: