भारतीय राष्ट्रपति द्रौपदी मुर्मुले नेपालका प्रधान सेनापति अशोकराज सिग्देललाई स्थल सेनाको महारथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेकी छन्।
बिहीबार राष्ट्रपति भवनमा आयोजित एक कार्यक्रममा प्रधान सेनापति सिग्देलले दर्ज्यानी चिन्ह पाएका हुन्। सिग्देल अहिले भारतको औपचारिक भ्रमणमा छन्।
‘नेपाल-भारतबीचको सांस्कृति, धार्मिक एवं ऐतिहासिक र मित्रवत् सैनिक सम्बन्धको निरन्तरता स्वरूप नेपाली सेनाका प्रधान सेनापतिलाई भारतीय सेनाको मानार्थ महारथी तथा भारतीय स्थल सेनाध्यक्षलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने विशिष्ट परम्परा रहेको छ,’ नेपाली सेनाले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
बिहीबार नै प्रधान सेनापति सिग्देलले भारतका रक्षामन्त्री राजनाथ सिंहसँग शिष्टाचार भेट गरेका थिए।
त्यस्तै उनले थल सेना भवन परिसरमा वृक्षारोपण समेत गरेका थिए।