राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त र आयुक्तहरूले शपथ लिएका छन्।
बुधबार बिहान बालुवाटारमा प्रमुख आयुक्त सुरेशप्रसाद आचार्यले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष शपथ लिएका हुन्।
साथै प्रधानमन्त्रीको उपस्थितिमा प्रमुख आचार्यले आयुक्तहरू गगन विष्ट र दुर्गा भण्डारीलाई शपथ गराएका हुन्।
कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङ, मन्त्रालयका सचिव राधिका अर्याल लगायतको उपस्थिति रहेको थियो।
शपथपछि शुभकामना दिँदै प्रधानमन्त्री ओलीले संविधानमा व्यवस्था भएको मौलिक हकका रुपमा सूचनाको हकको कार्यान्वयन र उपयोगका लागि आयोगको भूमिका प्रभावकारी हुनुपर्ने बताएका थिए।
असम्बन्धित व्यक्तिले अनेक सूचना मागेर सरकारका कामलाई अलमल्याउने प्रवृत्तिलाई प्रोत्साहन गर्न नहुने पनि उनको भनाइ थियो।
लोकतन्त्रको उपयोग गर्दा आफ्ना न्यायोचित हक, अधिकारको उपयोग गर्नुपर्ने तर लोकतन्त्र र अराजकतालाई छुट्टाएर काम गर्नुपर्नेमा उनले जोड दिए।
मन्त्रिपरिषद्को मंसिर ६ गतेको बैठकले सिफारिस समितिको सिफारिका आधारमा उनीहरूलाई नियुक्त गर्ने निर्णय गरेको थियो।
आयोगका अघिल्ला पदाधिकारीको कार्यकाल यही मंसिर २३ गतेदेखि सकिएको थियो।