नेकपा एमालेका सांसद योगेश भट्टराईले कर्मचारीको अवकाशको उमेर बढाउनुपर्ने बताएका छन्।
प्रतिनिधि सभाको राज्य व्यवस्था समितिमा संघीय निजामती विधेयक माथिको छलफलको क्रममा भट्टराईले नेपालीको सरदर आयु बढेकाले अवकाशको उमेर बढाउनुपर्ने बताए।
‘सय वटा मुलुकमा अवकाशको उमेर ६५ वर्ष रहेछ। केहीमा ६७ वर्ष छ,’ भट्टराईले भने, ‘नेपालमा सामान्यतया अवकाशको उमेर ६० वर्ष देखिन्छ। नेपालमा पनि अहिले सरदर आयु बढेको छ। त्यसैले उपसचिवमाथि सहसचिव र सचिवको ६५ वर्ष गर्नुपर्छ। त्यो भन्दा तल ६२ वर्ष गर्नुपर्छ।’
भट्टराईले कर्मचारीहरूलाई अवकाशलगत्तै कुनै नियुक्ति गर्न नहुने बताए।
‘अर्को निकायमा नियुक्ति हुन जाने कुलिङ पिरियड दुई वर्ष राख्नुपर्छ,’ भट्टराईले भने, ‘नियुक्ति हुनुस् तर कुलिङ पिरियड राख्नुपर्छ।’
एकीकृत समाजवादीका सांसद शेरबहादुर कुँवरले पनि अवकाशलगत्तै अर्को ठाउँमा कर्मचारीलाई नियुक्ति दिन नहुने बताए।
‘अवकाश भएकालाई दुई चार वर्ष होल्डमा राखौं,’ कुँवरले भने, ‘तत्कालै अर्को निकायमा नपठाऔं।’
प्रतिनिधि सभाको राज्य व्यवस्था समितिले संघीय निजामती सेवा विधेयकबारे छलफल सुरू गरेको छ।
समितिले अहिले संशोधनर्कताहरूलाई बोलाएर छलफल गरिरहेको छ। विधेयकमाथि सांसदहरूले एकल र संयुक्त रूपमा १२४ वटा संशोधन दर्ता गराएका छन्। विधेयकको १५८३ वटा विषयमा संशोधन परेको छ।