गृहमन्त्री रमेश लेखकले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा अनुसन्धान भइरहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथिको अनुसन्धान प्रभावित हुने गरी प्रमुख प्रतिपक्षी दलका नेताले अभिव्यक्ति दिनु बेठिक भएको बताएका छन्।
सुर्खेतमा मंगलबार पत्रकारहरूसँगको कुराकानीमा गृहमन्त्री लेखकले कसैको मानव अधिकार हनन् हुने गरी अनुसन्धान नगरिएको पनि बताए।
उनले सरकार मानव अधिकारको रक्षाका लागि गम्भीर रहेको पनि बताए।
‘सरकारी वकिलको कार्यालय घेर्ने, अदालत घेर्ने यो कुराहरू बेठिक हो,’ गृहमन्त्री लेखकले भने, ‘त्यसकारण कसैको मानव अधिकार हनन् भएको छैन।’
उनले अनुसन्धान प्रभावित हुने गरी कसैले पनि अभिव्यक्ति दिन नहुने बताए।
‘अदालतलाई र अनुसन्धानलाई प्रभावित गर्ने र न्यायिक प्रक्रिया प्रभावित गर्ने गरी बोल्नु बेठिक हो। प्रमुख प्रतिपक्षी दलका नेताले यस्तो काम गर्नु झन् दुर्भाग्यपूर्ण हो,’ गृहमन्त्री लेखकले भने।
प्रमुख प्रतिपक्षी दल नेता नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले सोमबार फेसबुकमा लेख्दै रास्वपा सभापति लामिछानेमाथि सरकारले निरंकुश, अलोकतान्त्रिक, अमानवीय र प्रतिशोधपूर्ण व्यवहार गरेको बताएका थिए।
‘अदालतबाट दोषी ठहर नभएका, अत्यधिक जनमतद्वारा निर्वाचित रास्वपाका सभापति रवि लामिछानेमाथि सरकारले गरिरहेको निरंकुश, अलोकतान्त्रिक, अमानवीय र प्रतिशोधपूर्ण व्यवहारको निन्दा गर्दछु,’ प्रचण्डले भनेका थिए।