अमेरिकाका सहायक विदेश मन्त्री डोनाल्ड लूले नेपालले सबै छिमेकी मुलुकसँग राम्रो सम्बन्ध राखेको हेर्न चाहेको बताएका छन्।
दुई दिने नेपाल भ्रमण सकेर सोमबार अमेरिका फर्किनुअघि पत्रकारसँग भएको भेटघाटमा उनले उक्त सम्बन्ध सम्प्रभुता र समानतामा आधारित हुनुपर्ने बताए।
'चीन, भारत, भुटान, श्रीलंका जस्ता छिमेकी मुलुकसँगको सम्बन्धले नेपाल लाभान्वित होस् भन्ने मान्यता अमेरिकाले राख्छ,' लूले भने।
उनले नेपालले हालै चीनसँग गरेको 'फ्रेमवर्क फर बिआरआई' सम्झौताबारे तत्कालै प्रतिक्रिया नदिने पनि बताएका छन्।
कस्तो खालको फ्रेमवर्क हो भन्ने कुरा बाहिर आइनसकेकाले अहिले नै टिप्पणी गर्न हतार हुने मन्त्री लूले बताए।
नेपाल बसाइका क्रममा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, अर्थमन्त्री विष्णु पौडेल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल लगायतसँग भेट गरेका मन्त्री लूले एमसिसी परियोजना उत्साहजनक रूपमा अघि बढिरहेको पनि बताए।
'यी भेटहरूमा मैले एमसिसीको कार्यान्वयनबारे छलफल गरेँ,' उनले भने, 'कार्यान्वयनमा भएको प्रगति उत्साहजनक छ।'
सहायक मन्त्री लूले संक्रमणकालीन न्यायमा नेपालले राम्रो प्रगति गरेको पनि बताए। उनले यसबारेमा पनि आफ्नो राजनीतिक भेटका क्रममा नेताहरूसँग कुराकानी भएको र संक्रमणकालीन न्याय निरूपणको बाटोमा अघि बढेको पाएको बताए।
मन्त्री लु आइतबार आएका थिए।