उपप्रधानमन्त्रीसमेत रहेका सहरी विकास मन्त्री प्रकाशमान सिंहले सुशासनका लागि भ्रष्टाचार नियन्त्रण र सदाचारको प्रवर्द्धन अनिवार्य सर्त रहेको बताएका छन्।
भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा सोमबार भएको कार्यक्रममा उपप्रधानमन्त्री सिंहले सुशासन र सभ्य समाज निर्माण गर्न भ्रष्टाचारलाई निर्मूल पार्नुपर्ने बताए।
यसका लागि राज्यका जिम्मेवार संयन्त्र, निकाय र पदाधिकारीहरुले आफ्नो दायित्वलाई अझ बढी जिम्मेवारीका साथ निर्वाह गर्नुपर्ने सिंहले बताए।
‘भ्रष्टाचार एउटा संगठित अपराध हो, भ्रष्टाचारले घुसखोरी र आर्थिक अनियमिततालाई बढावा दिएर आर्थिक विकासलाई सुस्त बनाउँछ। यसले निर्वाचन प्रणालीलाई प्रभावित गरी राजनीतिक अस्थिरता बढाउँछ। यसप्रति राज्य बढी सक्रिय हुनु जरूरी छ,’ सिंहले भने।