काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नदी तथा खोलाको माटो झिकेर दक्षिणकालीमा मैदान बनाउने सम्झौता गरेको बताएका छन्।
आइतबार बसेको ३७ औं नगर कार्यपालिका बैठकमा मेयर बालेनले महानगरभित्र खोला किनारा सफा गर्दा निस्कने माटो तथा बालुवा दक्षिणकाली नगरपालिकामा स्तान्तरण गरी त्यहाँ मैदान बनाउने सम्झौता भएको बताए।
कार्यपालिका बैठकमा वडा नम्बर १४ का वडाध्यक्ष सुमन श्रेष्ठले केही समयअघिको बाढीले खोला किनाराका क्षेत्रका पर्खालमा क्षति पुर्याएको बताएका थिए।
'बाढीका कारण खोला किनाराका पर्खाललको संरचनामा क्षति पुर्याएको छ,' उनले भने, 'भोलिको दिनमा त्यसले गर्दा बाढी पसेर धेरै धनजनको क्षति हुन सक्ने अवस्था छ। माटो र बालुवाका कारण खोलाको सतह बढेर केही माथि आएको छ। खोलालाई पनि सफा गर्न ध्यानाकर्षण गर्न चाहन्छु।'
वडाध्यक्ष श्रेष्ठलाई जबाफ दिँदै मेयर बालेनले खोलाको पर्खाल थप्नेभन्दा पनि जम्मा भएको माटो र बालुवा झिकेर सफा गर्नुपर्ने बताए।
'जम्मा भएका माटो, बालुवा र अन्य वस्तु एक दुई वर्षमा झिकेर सफा गर्नुपर्छ,' उनले भने, 'तर झिकिएका वस्तु बेच्न नपाइने हुँदा दक्षिणकाली नगरपालिका एउटा सम्झौता भएको छ।'
दक्षिणकालीस्थित एक ठाउँमा खाल्डो जस्तो रहेको हुँदा काठमाडौं महानगरका खोलामा जम्मा भएको माटो र बालुवा त्यहाँ लगेर राख्ने सहमति भएको उनले बताए। त्यो भरिँदै गएपछि त्यहाँ मैदान बन्न सक्ने सम्भावना देखिएको उनको भनाइ छ।
खोला तथा नदीबाट ढुंगा भने नझिकिने पनि उनले बताए।
खोलाबाट निकालेका वस्तु बिक्री गर्न नमिल्ने तर स्थानान्तरण गर्न पाउने प्रावधान रहेकोले दक्षिणकालीसँग उक्त सम्झौता गर्नु परेको मेयर शाहको भनाइ छ।
भिडिओः