दाङको राप्ती गाउँपालिका वडा नम्बर ८ का अध्यक्ष चन्द्रबहादुर गुरूङ कार्यालय नआएको पाँच महिना पुग्यो।
वडाध्यक्ष गुरूङले गत साउन १६ गते वडा सदस्य चम्फा पुनलाई कार्यवाहक तोकेर बेलायत गएका थिए।
तर, उनी हालसम्म सम्पर्कविहीन रहेको गाउँपालिका अध्यक्ष प्रकाश विष्टले जानकारी दिए।
‘उहाँको विषयमा अत्तोपत्तो छैन, हालसम्म सम्पर्कमै आउनुभएको छैन,’ अध्यक्ष विष्टले भने।
वडाध्यक्ष गुरूङ पदबाट राजीनामा नदिएरै विदेश गएका थिए।
‘उहाँले राजीनामा दिएर गएको भए मंसिर १६ मा यहाँ पनि उपनिर्वाचन हुन्थ्यो,’ गाउँपालिका अध्यक्ष विष्टले भने, ‘वडाले कम्तिमा वडाध्यक्ष त पाउँथ्यो।’
वडाध्यक्ष विदेश गएपछि गाउँपालिका अध्यक्ष विष्टलाई वडावासी सर्वसाधारणले काममा ढिला सुस्ती भएको भनेर फोन गरिरहन्छन् ।
‘त्यहाँका जनताले मलाई फोन गरि गुनासो गर्नु हुन्छ,’ उनले भने ‘जनताको काम गर्न मन नभए राजीनामा दिएर गएको भए कम्तिमा बाटो त खुल्थ्यो।’
जनप्रतिनिधिको मृत्यु भएमा वा राजिनामा दिए रिक्त स्थानमा उपनिर्वाचन हुने प्रावधान छ।
‘जनप्रतिनिधि यति लामो समय विदेश गई बस्लान् भनेर सोचिएन,’ गाउँपालिका अध्यक्ष विष्टले भने ‘ यति लामो समय वडाध्यक्ष विदेश बसेपछि जनताले दुःख पाउनु स्वभाविक हो।’
गुरुङ नेकपा एमालेवाट निर्वाचित वडाध्यक्ष हुन्।
यो पनिः
ऋण तिर्छु भन्दै बेलायत गए राप्तीका वडाध्यक्ष