प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्रीका रूपमा आफ्नो कार्यकाल १८ महिनाजति बाँकी रहेको बताएका छन्।
चीन भ्रणमबाट बिहीबार फर्किएका प्रधानमन्त्री ओलीले विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा सहमति अनुसार आफ्नो कार्यकाल १८ महिना भएको र त्यसपछि हस्तान्तरण गर्ने बताएका हुन्।
'त्यसपछि शेरबहादुर देउवाज्यूलाई मैले हस्तान्तरण गर्छु। उहाँले डेढ वर्ष चलाउनुहुन्छ। चुनाव गराउनुहुन्छ। हाम्रो चुनावसम्मको एग्रिमेन्ट छ। चुनावपछि अब हामी हरेकले बहुमत ल्याउने कोशिस गरौंला। बहुमत आउँछ भन्ने हामीलाई विश्वास छ। आएन भने अरू तरिकाहरू होला,' उनले भने।
भारत भ्रमणबारे पत्रकारहरूले गरेको प्रश्नमा प्रधामन्त्री ओलीले त्यसको एरेन्ज गर्नुपर्ने बताए।
'एरेन्ज गर्नुपर्छ। कहिले भन्नेकुरा यहाँ फर्किनेबित्तिकै कसरी टुंगिन्छ?,' उनले भने।
चीन भ्रमणको क्रममा नेपाल-चीन मित्रलाई प्रगाढ बनाउने कुरा भएको बताए। 'मित्रता अरू कसैका विरूद्ध नभई हाम्रै पक्षमा मात्र हो भन्ने कुरा पनि भयो। मित्रतालाई अगाडि बढाउने र त्यसले सकेसम्म ज्यादा लाभ नेपाललाई पुर्याउने भन्ने कुरा भयो,' प्रधानमन्त्री ओलीले भने।