उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले आधुनिक विकास निर्माणलाई नेपालीकरण सहितको दिगो बनाउनुपर्ने आवश्यकता रहेको बताएका छन्।
काठमाडौंमा ‘आर्कविल्ड एक्स्पो २०२४’ को बिहीबार उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले नेपाल अहिले तिब्र सहरीकरणबाट गुज्रिरहेको बताए।
आधारभूत र उत्थानशील पूर्वाधार निर्माणमा स्वदेशी तथा विदेशी ठूलो लगानी, विज्ञता र प्रविधिको आवश्यकता पनि उनले औल्याए।
‘आधारभूत र उत्थानशील पूर्वाधार निर्माणमा स्वदेशी तथा विदेशी ठूलो लगानी, विज्ञता र प्रविधिको आवश्यकता रहेको छ। अर्कोतर्फ हालको वर्षहरूमा जलवायु परिवर्तन एवं अन्य विपद्का घटनाहरूमा बढोत्तरी भई विकास प्रयासलाई ओझेलमा पार्ने गरी विनासकारी प्रभाव बढेर गएका छन्,’ उनले भने।
ऐतिहासिक र परम्परागत बस्ती स्थानीय मौलिक वस्तुकला, निर्माणशैली र मूर्त, अमूर्त सम्पदा नेपालका सम्पति भएको पनि उनले बताए।
नेपाली पहिचानको धरोहरको रुपमा रहेको नेपाली वस्तुकला र निर्मित वातावरणको गौरवमय इतिहासलाई कायम राख्दै आधुनिक विकास निर्माणलाई नेपालीकरणसहितको दिगो बनाउनुपर्ने आवश्यकता आफूले महशुस गरेको उनले बताए।
(न्युज एजेन्सी नेपाल)