नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले विद्युत प्राधिकरणले लाइन काट्ने कुरा गर्दा मन्त्रीले प्राधिकरणमै कार्यकक्ष खोलेर बसेको बताएका छन्।
बिहीबार माओवादी केन्द्रको पदाधिकारी बैठकपछि पत्रकारहरूसँग बोल्दै पार्टी प्रवक्तासमेत रहेका सापकोटाले प्राधिकरणको काममा अवरोध गर्न मन्त्रीले कार्यकक्ष नै खोलेर बसेको बताएका हुन्।
'विद्युत प्राधिकरणले लाइन काट्ने कुरा गरिरहेको छ। त्यसमा मन्त्रीले नै इतिहासमै कहिल्यै नभएको कुरा, प्राधिकरणमै कार्यकक्ष खोलेर बसेर त्यहाँ प्राधिकरणले गरिरहेको काममा अवरोध सिर्जना गरियो,' उनले भने।
त्यसरी सरकारले विचौलिया र भ्रष्टाचारीलाई जोगाउन लागेको उपाध्यक्ष सापकोटाले बताए। 'त्यसकाविरूद्ध व्यवस्थित ढंगले हामी खबरदारी सभामार्फत गर्नेछौं,' उनले भने।
सापकोटाले सरकारले भ्रष्टाचारलाई बेलगाम छाडिदिएको र एक अर्कालाई संरक्षण गरिरहेको बताउँदै ती सबै कुरामा खबरदारी गर्न आगामी स्थायी समिति र केन्द्रीय समिति बैठकमा बिढंगम छलफल हुने पनि बताए।