मंसिर ९ गतेदेखि विभिन्न माग राखेर चरणवद्ध आन्दोलन गर्दै आइरहेका तुलसीपुर उपमहानगरपालिकाका स्थानीय तह अन्तर्गतका कर्मचारी सहमतिपछि बिहीबारदेखि काममा फर्किएका छन्।
मेयर टीकाराम खड्का, प्रमुख प्रशासकीय अधिकृत गेहन्द्रबहादुर डाँगीका बीचमा भएको वार्तामा पाँच बुँदे सहमतिपछि कर्मचारीहरु काममा फर्किएका हुन्।
सहमतिको १ नम्बर बुँदामा हाल उनीहरुले खाइपाइ आएको सेवा सुविधा उपलब्ध गराउने र सर्वोच्च अदालतको फैसला आउनासाथ सोही बमोजिम हुने उल्लेख छ।
त्यस्तै नगरमा कार्यरत अस्थायी करार कर्मचारीको हकमा अविलम्ब करार सम्झौता गर्ने,कार्यालयका अन्य कार्यहरु जनप्रतिनिधिसंग समन्वय गरी गर्ने, कर्मचारीले सर्वोच्च अदालतमा पुनारावेदनका लागि दर्ता भएको रिटको स्वामित्व उपमहानगरले ग्रहण गर्ने र त्यसमा लागेको सम्पूर्ण खर्च ब्यहोर्ने र कर्मचारी विहीबारदेखि नै काममा फर्किने सहमति भएको छ।
सहमति पत्रमा मेयर खड्का, प्रमुख प्रशासकीय अधिृकत डाँगी, सामाजिक विकास समितिका संयोजक तथा वडा नं. ११ का वडाध्यक्ष मानवबहादुर रावतले हस्ताक्षर गरेका छन्।
नाम राखिएपनि बिधानसमिति संयोजक तथा वडा नं. १९ का वडाध्यक्ष भीबहादुर योगीको भने हस्ताक्षर छैन।
त्यस्तै संघर्षरत कर्मचारीको तर्फबाट संयोजक ललितबहादुर घर्ती, उपसंयोजक टोपबहादुर डाँगी, सचिव झरेन्द्र खरेल, पदम ज्ञवाली, अधिकृत छैठौं र केशव डाँगी, सहायक पाँचौंले हस्ताक्षर गरेका छन्।
यो पनि:
तुलसीपुरमा आफ्नै हाकिम र मेयरविरूद्ध किन आन्दोलित छन् कर्मचारी?