नेपाल पत्रकार महासंघले धरान र चितवनमा पत्रकारहरूमाथि धम्की र कुटपिट भएको भन्दै भर्त्सना गरेको छ।
महासंघका महासचिव रोशन पुरीले बिहीबार विज्ञप्ति निकालेर जिम्मेवार व्यक्तिबाट पत्रकारहरूमाथि गरिएको हर्कत अत्यन्त्र निन्दनीय हुनुका साथै प्रेस स्वतन्त्रतामाथिको ज्यादती भएको उल्लेख गरेका छन्।
महासंघका सुनसरीका अध्यक्ष जनकऋषि राई र महासंघका राष्ट्रिय परिषद् सदस्य गोपाल दाहाललाई समाचारको विषयलाई लिएर धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ (हर्कराज राई) ले सामाजिक सञ्जाल फेसबुकमार्फत स्ट्याटस लेखर धम्की दिएका थिए।
उक्त घटनाप्रति नेपाल पत्रकार महासंघले ध्यानाकर्षण भएको जनाएको छ।
खोज पत्रकारिता केन्द्र (खोपके) मा पत्रकार गोपाल दाहालले हर्क साम्पाङको बारे लेखेको समाचार प्रकाशित भएपछि साम्पाङले समाजिक सञ्जालमा ‘खोज पत्रकारिता केन्द्रका गोपाल दाहाल या कोही प्रतिनिधि भोलि १० बजे धरान १८ को ग्रीन टीमा हाजिर हुनु, अन्यथा तेरो खोज पत्रकारिताको अन्त्य गरिनछु भने मेरो नाम हर्क साम्पाङ होइन’ भनेर सामाजिक सञ्जालमा धम्कीपूर्ण स्ट्याटस लेखेका थिए।
समाचारप्रति चित्त नबुझे त्यसउपर कानुनी प्रक्रिया जाने या प्रेस काउन्सिल नेपालमा उजुरी गर्न सकिने स्थापित प्रावधान छ। ‘यसलाई बेवास्ता गर्दै सार्वजनिक पदधारी प्रमुखजस्तो जिम्मेवार व्यक्तिबाट गरिएको यो हर्कत अत्यन्त निन्दनीय हुनुका साथै प्रेस स्वतन्त्रतामाथिको ज्यादती हो,’ पत्रकार महासंघले भनेको छ।
साथै मेयर साम्पाङको अराजक र अशोभनीय हर्कतले पत्रकारलाई पेसाप्रति हतोत्साहित र त्रसित बनाउनुका साथै विचार र अभिव्यक्ति स्वतन्त्रताको अधिकारमा समेत आघात पुग्ने महासंघको ठहर छ।
महासंघले प्रेसको संवैधानिक अधिकारको सम्मान गर्न र यस किसिमका घटना दोहोरिन नदिने वातावरण निर्माण गर्न सम्बन्धित निकायसँग मागसमेत गरेको छ।
साथै सहकारी ठगीलगायतका आरोपमा रास्वपा सभापति रवि लामिछानेमाथि भइरहेको अनुसन्धानको विरोधमा उत्रिएका रास्वपाका कार्यकर्ताले चितवनमा पत्रकारमाथि गरेको आक्रमण र दुर्व्यवहारका घटनाप्रति महासंघले ध्यानाकर्षण भएको जनाएको छ।
मंसिर १९ गते बुधबार चितवनमा सभापति लामिछानेको अनुसन्धानको विरोधमा उत्रिएका राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताले नेपाल पत्रकार महासंघका सदस्य एवं कपुरकोट मिडियामा कार्यरत पत्रकार सन्तोष देउजालाई निर्घात कुटपिट गरेको महासंघ चितवन शाखाले जनाएको महासंघको भनाइ छ।
‘सो क्रममा घटनाका बारे बुझ्न जाँदा महासंघ चितवनका उपाध्यक्ष प्रकाशमणि ज्ञवाली र नेपाल प्रेसकी संवाददाता प्रतिमा सिलवाललाई दुर्व्यवहार गरिएको थियो। नागरिकलाई सुसूचित गराउन सञ्चारकर्ममा खटिरहेका पत्रकारमाथि एउटा स्थापित पार्टीका कार्यकर्ताबाट भएको यो हर्कत अत्यन्त निन्दनीय र प्रेस स्वतन्त्रतामाथिको प्रहार हो। यो घटनाले पत्रकारको र नागरिकको संविधानप्रदत्त अधिकारमा हस्तक्षेप भएको महासंघको ठहर छ। महासंघ घटनाको कडा शब्दमा भर्त्सना गर्दछ,’ महासचिव पुरीले निकालेको विज्ञप्तिमा भनिएको छ।
साथै महासंघले चितवन घटनामा संलग्नमाथि तत्काल कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाइ पत्रकारलाई निर्धक्क र निर्वाध रुपमा सञ्चारकर्ममा जुट्ने वातावरण निर्माण गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ।