नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले स्थानीय तह उपनिर्वाचनको नतिजालाई पार्टीले उत्साह र सकारात्मक रूपमा लिएको बताएका छन्।
पार्टीले उपनिर्वाचनको प्रारम्भिक समीक्षा सार्वजनिक गरिसकेको उल्लेख गर्दै शर्माले उपनिर्वाचन भएका प्रत्येक वडा र पालिकामा अगाडिको निर्वाचन तथा पछिल्लो निर्वाचनको अंकगणित के रह्यो भन्ने विषयमा पार्टी गम्भीर समीक्षा गर्ने बताए।
उपनिर्वाचन भएका ४४ स्थानमध्ये १९ स्थानको नतिजा कांग्रेसका पक्षमा आएको उल्लेख गर्दै महामन्त्री शर्माले एक्लै लडेर प्राप्त गरेको गुणात्मक मत अझै महत्वपूर्ण भएको बताए।
यो पनि: उपनिर्वाचन भएका ४१ ठाउँको पोस्टमर्टम: कसको सिट बढ्यो, कसको घट्यो?
‘प्रत्येक वडा र पालिकामा गम्भिर रुपमा अगाडिको निर्वाचन र पछिल्लो निर्वाचनको अंकगणित के रह्यो, उपलब्धि हुँदै गर्दा कसरी भयो, गुम्दै गर्दा कसरि गुम्यो भन्नेकुरा हामीले तथ्यांकसहित सबै तयारी गरिरहेकै छौं,’ न्युज एजेन्सी नेपालसँगको कुराकानीमा शर्माले भने, ‘अहिले प्रारम्भिक रुपमा भनिरहँदा मतदाताको उत्साहजनक सहभागिता र मुख्य राजनीतिक दलहरूले पाएको मत, प्रणालीप्रतिको विश्वास, यही प्रणालीबाट समुन्नतिको बाटोमा हिँड्नुपर्छ भनेर राजनीतिक दलहरूलाई घच्घच्याएको जनादेशलाई पुनर्ताजगी गरेको रुपमा हामीले बुझेका छौं।’
रिक्त ४४ स्थानमध्ये कांग्रेस २७ वटा स्थानमा जितेको थियो। मंसिर १६ को उपनिर्वाचनमा कांग्रेसले अहिले १९ ठाउँमा जितेको छ।
‘गणितीय व्याख्या गर्दा कम विजयी भएको देखिन्छ। ४४ स्थानमा १९ स्थान भनेको ४३ प्रतिशत जितेको अवस्था हो। त्यसका बाबजुद पनि नेपाली कांग्रेसले तत्कालिन चुनावको परिस्थिति, मनोविज्ञान, त्यसबेलाका समीकरण र अहिलेको परिस्थिति, मनस्थिति र समिकरणलाई हेर्ने हो भने गुणात्मक रूपले यो महत्वपूर्ण छ,’ उनले भने, ‘गत निर्वाचनमा हामी कहीँ माओवादीसँग गठबन्धन गरेर लडेका थियौं, कही एकीकृत समाजवादीसँग हाम्रो समीकरण थियो। गठबन्धन गरेर प्राप्त गरेको २७ वटा सिटभन्दा गठबन्धन नगरिकन प्राप्त भएको १९ सिट विशेष रुपले महत्वपूर्ण छ।’
भिडिओ: