नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कार्यालय बैठकमा स्थानीय तह उपनिर्वाचन र यसका परिणामबारे समीक्षा भएको छ।
खुमलटारमा बिहीबार बसेको बैठकमा उपनिर्वाचनबारे समीक्षा भएको हो।
मंसिर १६ मा ४१ ठाउँमा भएको उपनिर्वाचनमा माओवादीले ११ स्थानमा जितेको थियो। ४१ मध्ये पहिले माओवादीले जितेका ८ स्थान रिक्त थिए।
पहिले ८ स्थान जितेको माओवादीले यसपालि ३ स्थान थपेर ११ स्थानमा जितेको हो।
पदाधिकारी बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै उपाध्यक्षसमेत रहेका प्रवक्ता अग्निप्रसाद सापकोटाले पदाधिकारी बैठकमा स्थानीय तहको उपनिर्वाचनबारे समीक्षा पनि गरिएको बताए।
‘बैठकमा उपनिर्वाचन समीक्षा, पालिका सम्मेलन र खबरदारी सभाबारे पनि छलफल भयो,’ सापकोटाले भने, ‘उपचुनावले निकै राम्रो सन्देश प्रवाह गरेको छ।’
अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको सरकारले विगतमा गरेका कामका आधारमा जनताले पार्टीलाई थप सहयोग गरेको पनि उनले बताए।
एक्लाएक्लै चुनाव लड्ने माओवादीको घोषणाअनुसार नै उपनिर्वाचनमा गएको उनले बताए।
‘हामी एक्लै चुनावमा गयौं, प्रचण्ड नेतृत्वको सरकारले गरेका कामबारे चुनावका बेला राम्रोसँग जनतामा सम्प्रेषण गर्यौं। २०६४ पछि पहिलो पटक हामी एकताबद्ध भएर गयौं र सकारात्मक नतिजा दिएको छ,’ उनले भने, ‘पहिले ८ ठाउँ जितेकोमा अहिले ११ ठाउँ जितेका छौं।’
यो पनि: उपनिर्वाचन भएका ४१ ठाउँको पोस्टमर्टम- कसको सिट बढ्यो, कसको घट्यो?