सहकारी बचत ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरणको अनुसन्धानका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई जिल्ला प्रहरी कार्यालय चितवनबाट रातारात पोखरा पुर्याइएको छ।
लामिछाने बिहीबार बिहान ४ बजे जिल्ला प्रहरी कार्यालय पोखरामा पुगेको चितवनका एसपी गौतम मिश्रले जानकारी दिए।
चितवनमा रवि लामिछानेसँग दुई दिन बयान भएको थियो। उनलाई गत मंगलबार काठमाडौंमा बयान सकेर यतैबाट चितवन लगिएको थियो।
लामिछानेलाई अहिलेसम्म पोखरा, चितवन, काठमाडौं र रूपन्देहीमा रहेका सहकारीको रकम अपचलनमा बयान लिइसकेको छ। बुधबार मात्रै पर्सामा पनि पनि पक्राउ पुर्जी जारी भएको छ।
पक्राउ पुर्जी जारी भएसँगै लामिछानेलाई पोखराबाट वीरगन्ज लगिनेछ। केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले कात्तिक २ गते लामिछानेलाई काठमाडौंबाट पक्राउ गरेको थियो।
लामिछानेमाथि पोखराको सूर्यदर्शन, काठमाडौंको स्वर्णलक्ष्मी, वीरगन्जको समता, रूपन्देही सुप्रिम र चितवनको साहारा सहकारीको बचत रकम अपचलनको आरोपमा अनुसन्धान भइरहेको हो।