प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निर्वाचन क्षेत्रमा एक-एक आयोजना बनाइदिन नेपालले चीन सरकारसँग आग्रह गरेको छ।
चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार उच्चस्तरीय भेटवार्ता सकेपछि निकालिएको संयुक्त वक्तव्यमा नेपालका तर्फबाट यस्तो आग्रह गरिएको उल्लेख छ।
‘नेपाल पक्षले चिनियाँ पक्षलाई मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयको काम अगाडि बढाउन, झापाको दमकमा स्पोर्टस् एकेडेमी र डडेलधुरामा अमरगढी सिटी हल बनाउन आग्रह गरेको छ,’ संयुक्त वक्तव्यमा लेखिएको छ।
झापाको दमक प्रधानमन्त्री ओलीको निर्वाचन क्षेत्र हो भने डडेलधुराको अमरगढी कांग्रेस सभापति शेरबहादुर देउवाको निर्वाचन क्षेत्रमा पर्छ।
यसअघि कांग्रेस र एमालेबीच भएको छलफलमा प्रधानमन्त्री ओलीले चीनले आफू र कांग्रेस सभापति देउवाको क्षेत्रमा एउटा-एउटा आयोजना उपहार दिन लागेको ब्रिफिङ गरेका थिए।
तर मंगलबारको संयुक्त विज्ञप्तिमा भने नेपालले नै अनुरोध गरेको उल्लेख भएको छ।