पाँच वटा महानगरपालिकाका नेपाली कांग्रेसका सभापतिहरूले नेता शेखर कोइरालासँग छलफल गरेका छन्।
विराटनगरस्थित कोइराला निवासमा महानगर सभापतिहरू र शेखरबीच कुराकानी भएको हो।
काठमाडौं महानगर सभापति निलकाजी शाक्य, पोखरा महानगर सभापति सुरेन्द्रमान बिजुक्छे, ललितपुर महानगर सभापति सुवानन्द धाख्वा, वीरगञ्ज महानगर सभापति मणिन्द्रराज नेपाली र विराटनगर सभापति दीपक चापागाईंले कोइरालालाई भेटेर मंगलबार कुराकानी गरेका हुन्।
कांग्रेसका महानगर सभापतिहरूले नेता कोइरालासँग भेटेर महानगर सभापतिहरूको भेलाका माग तथा सुझावहरू बुझाएको कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले जानकारी दिए।
यसअघि महानगर सभापतिहरूले सभापति शेरबहादुर देउवालाई भेटेर पनि उक्त माग तथा सुझाव दिएका थिए।
यसैबीच कोशी प्रदेशमा स्थानीय तहका सभापतिहरूको भेला पनि भएको छ। मंगलबार उक्त भेलालाई नेता कोइराला, केन्द्रीय सदस्य मिनेन्द्र रिजाल, सरिता प्रसाईं, किरण यादव, राजिव कोइराला, चन्द्रमोहन यादव र रुक्मिणी कोइराला, कोशी प्रदेश महामन्त्री उमेश थापा, पूर्वकेन्द्रीय सदस्य गुरू घिमिरे, रामकृष्ण भट्टराई र हसन अन्सारीले सम्बोधन गरेका छन्।
साथै कांग्रेस जिल्ला सभापतिहरू मोरङका डिगबहादुर लिम्बू, सुनसरीका केदार भण्डारी, भोजपुरका बिनोद बान्तवा, पाँचथरका रुपनारायण जबेगुले पनि सम्बोधन गरेका थिए।
सांसद सुनिल शर्मा, कोशी प्रदेश पूर्वमुख्यमन्त्री केदार कार्कीलगायत पनि कार्यक्रममा सहभागी भए। कोइराला पक्षले यस कार्यक्रममा कोशीका ११३ पालिका सभापति उपस्थित रहेको दाबी गरेको छ।
यो पनि: कोशीका ११३ पालिका सभापति आफ्नो भेलामा सहभागी बनेको कोइराला पक्षको दाबी