नेपाली कांग्रेसका राष्ट्रिय सभा सांसदसमेत रहेका संसदीय सुनुवाइ समितिका सदस्य आनन्दप्रसाद ढुंगानाले अदालतको अवहेलना गरेको भन्दै सर्वोच्च अदालतमा परेको रिट पेशीमा चढेको छ।
बुधबार उक्त रिट न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासमा परेको हो।
अधिवक्ता त्रिलोकबहादुर चन्दले मंसिर ४ गते सर्वोच्च अदालतमा सांसद ढुंगानाले अदालतको अवहेलना गरेको भन्दै रिट दायर गरेका थिए।
यसअघि मंसिर ६ गते न्यायाधीश शारंगा सुवेदी, मंसिर ११ गते शारंगा सुवेदी र मंसिर १७ गते नित्यानन्द पाण्डेयको इजलासमा परेको थियो। ती सबै इजलासले हेर्न नमिल्नेमा राखिएको थियो।
कात्तिक २३ गते संसदीय सुनुवाइ समितिको ५१ औं बैठकमा सांसद ढुंगानाले न्यायाधीश सपना मल्ल प्रधानलाई लक्षित गर्दै प्रश्न गरेका थिए। उक्त प्रश्नमाथि अदालतको अवहेलनामा रिट दायर भएको हो।
न्यायाधीशहरू नृपध्वज निरौला र नित्यान्द पाण्डेबारे सुनुवाइ भइरहँदा न्यायाधीश मल्ल र सारंगा सुवेदीको संयुक्त इजलासले गरेको गण्डकी प्रदेशबारे आदेशलाई लिएर सांसद ढुंगानाले टिप्पणी गरेका थिए।
उक्त इजलासले ६० सदस्यीय गण्डकी प्रदेश सभामा सरकार बनाउन ३० जना सांसद भए पनि बहुमत पुग्ने आदेश दिएको थियो।
‘सबैभन्दा दुर्भाग्य गण्डकीको जुन निर्णय भयो त्यो निर्णयले धेरै नै पिरोल्यो। जबकि उहाँलाई पनि सुनुवाइ समितिमा भनेको थिएँ- तपाईंले एउटा पार्टीको झन्डा बोकेर बस्नुभएको थियो हिजोको दिनमा। अब आज तपाईं न्यायपालिकामा आउँदै हुनुहुन्छ तपाईंले न्याय निष्पक्ष दिन सक्नुहोला र? होइन चप्पल खोलेर न्यायपालिकाको कुर्सीमा बस्नुपर्छ भन्नुभयो। मलाई पनि खुसी लाग्यो। चप्पल त खोल्नुभएको होला लागेको थियो तर उहाँले चप्पल खोल्नुभएको रहेनछ। त्यसैले यो सब कुराको प्रष्ट रूपमा यहाँले कार्य गर्दगर्दा कसरी व्यवस्थापन गर्न सक्नुहुन्छ?,’ उनले भने।
प्रधान २०६४ सालमा नेकपा (एमाले) का तर्फबाट पहिलो संविधान सभा सदस्य थिइन्। एमालेबाट सांसद भइसकेकी प्रधानले न्यायाधीशका रूपमा खेल्ने भूमिकालाई लिएर सुनुवाइकै बेला पनि सांसदहरूले प्रश्न उठाएका थिए।
२०७३ साउन १३ गते भएको सुनुवाइ समिति बैठकमा कांग्रेस सांसद ढुंगानाले प्रधानलाई लक्षित गर्दै ‘लोगो लगाएर झन्डामुनि उभिएको व्यक्तिले निष्पक्ष न्याय दिनेमा अविश्वास व्याप्त रहेको’ बताएका थिए। न्यायाधीश प्रस्तावित व्यक्तिलाई एउटा दल विशेषको मानिसका रूपमा व्याख्या गरेको भन्दै प्रधानले त्यसबेला असन्तुष्टि जनाएकी थिइन्।
यो पनि: सर्वोच्चकी न्यायाधीश प्रधानलाई लक्ष्य गर्दै कांग्रेस सांसद ढुंगानाले भने- उहाँले चप्पल खोल्नु भएको रहेनछ