उदयपुरका दुइटै वडामा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन्।
जिल्लाको त्रियुगा नगरपालिका-१२ र वेलका नगरपालिका-९ मा माओवादी उम्मेदवार निर्वाचित भएका हुन्।
त्रियुगा-१२ मा नवीनकुमार वान्तवा राई र वेलका-९ मा भरत घिमिरे विजयी भए। राईले ९२३ मत र घिमिरेले ५५९ मत प्राप्त गरे।
यसअघि २०७९ को निर्वाचनमा यी दुवै वडामा नेपाली कांग्रेस विजयी भएको थियो। त्रियुगा-१२ मा कांग्रेसका चुडाराज काफ्ले विजयी हुँदा यसपालि माओवादीबाट निर्वाचित भएका नवीनकुमार वान्तवा राई तेस्रो भएका थिए। यसपालि भने राई ३१५ मतान्तरसहित विजयी भए। उनका निकट प्रतिद्वन्द्वी एमालेका लक्ष्मीनारायण चौधरीले ६०८ मत पाए।
वेलका-९ मा पनि यसअघि कांग्रेसका पदम खड्का निर्वाचित भएका थिए। त्यो बेला माओवादी उम्मेदवार हरिबहादुर श्रेष्ठ चौथो भएका थिए। यसपालि भने माओवादीले युवा उम्मेदवार अघि सारेको थियो।
निर्वाचित घिमिरे युवा पुस्तामाझ लोकप्रिय मानिन्छन्। विद्यार्थी राजनीतिमा सक्रिय उनी अखिल क्रान्तिकारीका सचिव हुन्।