कीर्तिपुरको मेयर पदका लागि भएको उपनिर्वाचनमा नेपाली कांग्रेसले जितेको छ।
सुरूदेखि नै अगाडि रहेका कांग्रेसका कृष्णमान डंगोलले ५३३४ मत पाएर जित हासिल गरेका हुन्।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका शिवशरण महर्जनले ४५५५ मत पाएका छन्।
त्यस्तै नेकपा एमालेका सुरेन्द्र मानन्धरले ४३३७ पाए।
स्वतन्त्र उम्मेदवार राजमान महर्जनले २०३६ मत, स्वतन्त्र उम्मेदवारहरू कविकुमार महर्जनले १३१४ मत र दिनेशकुमार अधिकारीले १०४८ मत पाएका हुन्।
यसअघि मेयर पदमा नेपाली कांग्रेसका राजकुमार नकर्मी विजयी बनेका थिए। उनले ९०४३ मत प्राप्त गरेका थिए।
वडा नम्बर १ को अध्यक्ष पदमा पनि कांग्रेसका हिरालाल महर्जनले ७७८ मत प्राप्त गरी विजयी बनेका थिए।
यस्तै वडा नम्बर ४ मा श्यामकुमार अधिकारीले स्वतन्त्र उम्मेदवारी दिएर विजयी बनेका थिए।
तीनै जना जनप्रतिनिधिको मृत्यु भएपछि उपनिर्वाचन भएको हो।
वडा नम्बर १ र वडा नम्बर ४ मा पनि नेपाली कांग्रेस नै विजयी भएको छ।
वडा १ मा इच्छाकुमार महर्जन र ४ मा राजेन्द्र बानियाँ निर्वाचित भएका हुन्।