उदयपुरको वेलका नगरपालिका ९ मा पाँच सय मत गणना हुँदा माओवादी केन्द्रले अग्रता लिएको छ।
माओवादी वडाध्यक्षका उम्मेदवार भरत घिमिरेले १ सय ४९ मतसहित अग्रता लिएका हुन्।
उनलाई एमालेका मोहन खड्काले १ सय ३३ मत ल्याएर पछ्याइरहेका छन्। यस्तै नेपाली कांग्रेसका नवराज बस्नेतले १ सय ६ मत प्राप्त गरेका छन्।
जसपाका राजकुमार राईले ५६ मत प्राप्त गर्दा रास्वपाका तेजमान विश्वकर्माले ३५ मत पाएका छन्।
वेलकामा दलहरूले बदर मत बढाएका कारण मत गणना स्थगित गरिएको थियो। पछि निर्वाचन आयोगले नै विवादित मतलाई पुनः गणना गर्न निर्देशन दिएपछि साँझ ५ बजेदेखि मत गणना सुरू भएको हो।
हिजो ५ सय मत गणना गर्दा २ सय २० मत बदर संख्यामा गणना गरिएको थियो। त्यसलाई निर्वाचन अधिकृतले निर्देशिकाविपरीत गणना गरिएको भन्दै मतगणना स्थगित गरेका थिए।
सोही विवाद मिलाउन सोमबार बिहान सर्वदलीय बैठक बसेको थियो। जसमा माओवादी केन्द्रको मत गणना पुनः सुरू गर्नुपर्ने माग थियो। एमालेको भने गणना भइसकेको मतलाई मानेर बाँकी मत गणना गर्नुपर्ने अडान थियो।
आज सोही २ सय २० मतलाई पुनः गणना गर्दा जम्मा ९ मत मात्र बदर भएको निर्वाचन अधिकृत मनोजप्रसाद गुप्ताले बताए।
वेलका ९ मा वडाध्यक्षका लागि उपनिर्वाचन भएको थियो। यो वडामा यसअघि नेपाली कांग्रेसका पदम खड्का विजयी भएका थिए। उनको सडक दुर्घटनामा मृत्यु भएको थियो।
यसपालि वडाध्यक्षका लागि कांग्रेसबाट नवराज बस्नेत, एमालेबाट मोहन खड्का, माओवादीबाट भरत घिमिरे र रास्वपाबाट तेजमान विश्वकर्मा चुनावी मैदानमा छन्।
एमालेका उम्मेदवार मोहन खड्का यसअघिका अध्यक्ष पदम खड्काका भाइ हुन्।
यो वडामा जम्मा एक हजार ८ सय ८५ मत खसेको छ।