खानेपानी मन्त्री प्रदीप यादवले कर्णाली प्रदेशमा डिपिआर, सहितका अन्य सबै प्रक्रिया पूरा गरेर बजेट अभावको कारण देखाई काम हुन नसकेका संघीय खानेपानी आयोजना अन्तर्गतका योजनाहरूमा अब बजेट अभाव नहुने बताएका छन्।
आज कर्णाली प्रदेशको सदरमुकाम सुर्खेतस्थित वीरेन्द्रनगरमा संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना सुर्खेतको ग्रामीण खानेपानी सेवा सहायता केन्द्र ‘सेवा सहायता केन्द्र’ शुभारम्भ कार्यशालालाई सम्बोधन गर्दै मन्त्री यादवले सो कुरा बताएका हुन्।
‘म यहाँका जनप्रतिनिधि, स्थानीयवासीहरूलाई विश्वास दिलाउन चाहन्छु, संघीय सरकार खानेपानी मन्त्रालयबाट कर्णाली प्रदेशमा सञ्चालन भइरहेका र बजेट नभएर रोकिएका डिपिआर भएका कुनै पनि योजनाहरू पैसा अभावमा रोकिने छैन,’ उनले भने, ‘बजेट रकमान्तर गरेर भए पनि म यहाँका योजनाहरूको टेण्डर आह्वान गर्छु, म कर्णालीवासीका सुख दु:खमा साथ दिनेछु।’
मन्त्री यादवले कर्णाली प्रदेश सहितका विकट क्षेत्रका आम नेपाली नागरिकलाई स्वच्छ तथा गुणस्तरीय खानेपानी तथा सरसफाइमा पहुँच पुर्याउन आफू लागि परेको बताए।
‘कर्णाली प्रदेशका अधिकांश क्षेत्रहरू विकासको नाममा निकै विकट रहेका छन्, यहाँ खानेपानीको क्षेत्रमा जम्मा चार प्रतिशतले मात्रै शुद्ध खानेपानी पाइरहेका र ९६ प्रतिशतले अहिलेसम्म पनि अशुद्ध पानी खान बाध्य भएकाले म त्यसको अन्त्य गर्न लागिपरेको छु,’ उनले भने।
मन्त्री यादवले स्वच्छ खानेपानी सहितको एक घर, एक धाराको अवधारणालाई अघि सारेर आफूले काम अगाडि बढाइ अग्रपङ्क्तिमा काम सञ्चालन गरिरहेको जानकारी दिए।