उदयपुरको वेलका नगरपालिका वडा नम्बर ९ मा पुनः मत गणना गर्न निर्वाचन आयोगले निर्देशन दिएको छ।
दलहरूले बदर मत बढाएको भन्दै गए राति १ बजेदेखि मतगणना स्थगित गरेका थिए।
सोमबार बिहान पटक-पटक सर्वदलीय बैठक बस्दा पनि दलहरूबीच सहमति जुट्न नसकेपछि निर्वाचन अधिकृतले आयोगसँग सहयोग मागेका थिए।
प्रमुख जिल्ला निर्वाचन अधिकृत दीपक दाहालले सेतोपाटीसँग भने, 'दलहरूका फरक-फरक कुरा आएपछि सर्वदलीय बैठकमा सहमति जुट्न सकेन। त्यसपछि हामीले आयोगसँग सहयोग माग्यौं। अहिले आयोगले नै पत्र पठाएर पुनः गणना गर्नु भनेपछि हामीले दलहरूलाई जानकारी गराएका छौं।'
कुल पाँच सय मत गणना गरेकोमा २२० मत बदर भएपछि गणना स्थगित गरिएको थियो। दलहरूले निर्देशिकाविपरीत सदर हुनुपर्ने मतलाई पनि बदर संख्यामा गणना गर्न जोडबल गरेपछि निर्वाचन अधिकृतले गणना स्थगित गरेका थिए।
सोही विवाद मिलाउन सोमबार बिहान सर्वदलीय बैठक बसेको थियो। जसमा माओवादी केन्द्रको मत गणना पुनः सुरू गर्नुपर्ने माग थियो। एमालेको भने गणना भइसकेको मतलाई मानेर बाँकी मत गणना गर्नुपर्ने अडान थियो।
अहिले पनि एमाले आयोगको निर्देशन अनुसार पुनः मत गणना गर्नुपर्ने पक्षमा छैन।
'हामी गणना भइसकेको मतलाई पुनः गणना गर्न पक्षमा छैनौं। आयोगको पत्रपछि हामी के गर्ने भन्नेमा आन्तरिक छलफल गर्दैछौं। हाम्रो माग अनुसार गणना सुरू नभए हामी बहिस्कार गर्छौं,' एमाले नगर अध्यक्ष हिराजंग राईले सेतोपाटीसँग भने।
वेलका ९ मा वडाध्यक्षका लागि उपनिर्वाचन भएको थियो। यो वडामा यसअघि नेपाली कांग्रेसका पदम खड्का विजयी भएका थिए। उनको सडक दुर्घटनामा मृत्यु भएको थियो।
यसपालि वडाध्यक्षका लागि कांग्रेसबाट नवराज बस्नेत, एमालेबाट मोहन खड्का, माओवादीबाट भरत घिमिरे र रास्वपाबाट तेजमान विश्वकर्मा चुनावी मैदानमा छन्।
एमालेका उम्मेदवार मोहन खड्का यसअघिका अध्यक्ष पदम खड्काका भाइ हुन्।
यो वडामा जम्मा एक हजार ८ सय ८५ मत खसेको छ।