काठमाडौंको कालिमाटीमा रहेको स्वर्णलक्ष्मी बहुउद्देश्य सहकारीको बचत रकम अपचलनमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको लिन बयान सकिएको छ।
सरकारी वकिल कार्यालय काठमाडौंमा तीन दिन लगाएर लिइएको बयान सोमबार साँझ करिब ६ बजे सकिएको हो। उनको बयान सोमबार बिहान ११ बजेदेखि जिल्ला न्यायाधिवक्ता खडिन्द्रराज कटुवाल र जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसन्धान अधिकृत हरि खतिवडाले लिएका हुन्।
मंसिर २ गते जिल्ला अदालत काठमाडौंले लामिछानेविरूद्ध पक्राउ पुर्जी जारी गरेपछि उनलाई मंसिर १३ गते काठमाडौं ल्याइएको थियो।
उनीसँग शुक्रबार, आइतबार र सोमबार बयान लिइएको हो। स्रोतका अनुसार बयानका लागि ७५ वटा प्रश्न तयार पारिएका थिए। जसक्रममा उनले आरोपको इन्कार गरे।
‘स्वर्णलक्ष्मीबाट मैले ऋण लिएको छैन। ऋण ल्याउने व्यक्ति अरू नै हुन्,’ उनले बयानमा भनेको कुरा उदृत गर्दै स्रोतले भन्यो, ‘चेक पनि कम्पनी चलाउनका लागि गरिएको हो। कम्पनीको लागि काम गर्दा कतिपय चेकहरू काटेर खाली छोड्नुपर्ने स्थिति पनि थियो।’
यस सहकारीविरूद्ध ६४५ जनाले जाहेरी दिएका छन्। सहकारीका अध्यक्ष जिबी राई थिए। उक्त सहकारीमा २ अर्ब ७४ करोड रुपैयाँ अपचलन भएको पीडितहरूले दाबी गरेका छन्।
ऋण ल्याएको विषय जिबी राईलाई नै थाहा हुने लामिछानेको भनाइ थियो।
त्यस्तै कम्पनीका लागि गाडी किन्न पनि सोही सहकारीबाट ऋण लिएको खुलेको थियो। सहकारीबाट ऋण लिएर गोर्खा मिडियाका लागि ऋण लिएको पनि खुलेको थियो।
त्यसमा पनि आफूले कम्पनी छोड्दा गाडी पनि छाडेर हिँडेको दाबी गरेका हुन्।
लामिछानेले आफू उपप्रधान तथा गृहमन्त्री हुँदा पनि राईलाई ल्याउन प्रयास पनि गरेको बताएका हुन्।
‘म मन्त्री हुँदा जिबी राईलाई ल्याउन प्रयास पनि गरेँ। मैले ल्याउँछु भनेर पहल पनि गरेँ,’ लामिछानेले राखेका कुरा उदृत गर्दै स्रोतले भन्यो।
लामिछानेको बयान सकिएपछि उनलाई पुन: जिल्ला प्रहरी कार्यालय कास्की पठाउने प्रहरीको तयारी छ। उनीमाथि कार्यालयबाट सम्पत्ति शुद्धीकरण, सहकारी बचत रकम अपचलन र संगठित अपराध कसुरमा अनुसन्धान भइरहेको हो।
उनीमाथि कास्कीमा अनुसन्धान भइरहेकै बेलामा जिल्ला अदालतले मंसिर २ गते पक्राउ पुर्जी जारी गरेको थियो। लामिछानेलाई केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले कात्तिक २ गते पक्राउ गरेको थियो।
लामिछानेसँग जिल्ला प्रहरी कार्यालय रूपन्देही र जिल्ला प्रहरी कार्यालय चितवनमा पनि अनुसन्धान भइरहेको छ। अब सम्भवत: जिल्ला प्रहरी कार्यालय चितवनमा लगिनेछ। रूपन्देही सरकारी वकिल कार्यालयमा लामिछानेको बयान लिएर सकिसकेको छ।
जिल्ला प्रहरी कार्यालय वीरगन्जले पनि सानो पाइला ऋण तथा बचत सहकारीको बचत रकम अपचलनको अनुसन्धान गरिरहेको छ। त्यसमा लामिछानेमाथि पनि अनुसन्धान हुने वा नहुने भन्ने खुलिसकेको छैन।