रूकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकामा उपाध्यक्षको उपनिर्वाचनमा नेकपा माओवादी केन्द्रका उम्मेदवार दोब्बर मतले अगाडि छन्।
आइतबार दिउँसोसम्म माओवादीकी नरपुरा बुढाले २६२५ मत पाउँदा नेपाली कांग्रेसकी केशकुमारी तुलाचनले १२७९ मत पाएकी छन्।
उनीहरूबीच १३४६ मतान्तर छ। तुलाचन नेकपा एमालेकी जिल्ला कमिटीकी उपसचिव हुन्। उनले नेपाली कांग्रेसको चुनाव चिन्ह रूखबाट निर्वाचन लडेकी हुन्।
मनोनयन दर्ता गराएपनि नेकपा (एमाले) की सुनिता बुढा मगर, स्वतन्त्र रूपमा कोपिला पुन बुढा, भिमकुमारी पुन, मोहनभक्त बुढा र श्रीदेवी सुना (विक) सबैले अन्तिममा आएर आ–आफ्नो उम्मेदवारी फिर्ता लिएका थिए।
उम्मेदवारी फिर्ता लिएका मध्ये अधिकांसले माओवादीकी उम्मेदवारलाई समर्थन गर्ने घोषणा गरेका थिए।
२०७९ को स्थानीय तह निर्वाचनमा गाउँपालिकाको उपाध्यक्ष माओवादी केन्द्रकी भूपेन्द्रा बुढा निर्वाचित भएकी थिइन्। भूपेन्द्राको गत भदौ २८ गते काठमाडौंबाट घर तर्फ आउँदै गर्दा सवारी दुर्घटनामा मृत्यु भएको थियो। अहिले उम्मेदवार बनेकी नरपुरा बुढा भूपेन्द्राकी दिदी हुन्।
यसको वडा नम्बर २ मा पनि उपनिर्वचान भएको छ। जहाँ माओवादीकै जगत घर्ती निर्विरोध भएका छन्।
पुथा उत्तरगंगा गाउँपालिका माओवादीको पकेट क्षेत्र मानिन्छ।