काठमाडौंको कीर्तिपुर नगरपालिका मेयरका लागि आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी छ।
यहाँ नेपाली कांग्रेसका कृष्णमान डंगोलले ५ सय मतान्तरले अग्रता लिएका छन्।
सोमबार मध्याह्नसम्म डंगोलले १८९२ मत पाउँदा उनका प्रतिस्पर्धी नेकपा (एमाले)का सुरेन्द्र मानन्धरले १३७८ मत पाएका हुन्।
उनीहरूबीच ५१४ मतको अन्तर छ।
त्यस्तै नेकपा माओवादी केन्द्रका उम्मेदवार शिवशरण महर्जन तेस्रो स्थानमा छन्। उनले ११८८ मत प्राप्त गरेका छन्।
चौथो र पाँचौं स्थानमा स्वतन्त्र उम्मेदवार छन्। चौथोमा राजमान महर्जनले ७३६ मत पाउँदा पाँचौंमा रहेका दिनेशकुमार अधिकारीले ६४२ मत प्राप्त गरेका हुन्।
कीर्तिपुरमा मेयरका लागि वडा नम्बर १, २ र ४ को मतगणना भइसकेको छ। वडा नम्बर ३ को मतगणना जारी छ।
वडा नम्बर १ र ४ को वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्। वडा नम्बर १ मा कांग्रेसका इच्छाकुमार महर्जन विजयी भएका छन्। यहाँ यसअघि कांग्रेसकै हिरालाल महर्जनले वडाध्यक्ष जितेका थिए।
वडा नम्बर ४ मा पनि कांग्रेसका राजेन्द्र बानियाँ विजयी भएका छन्। यसअघि २०७९ मा उनी स्वतन्त्र उम्मेदवार श्यामकुमार अधिकारीसँग पराजित भएका थिए।
कीर्तिपुर मेयरमा राजकुमार नकर्मी विजयी भएका थिए।