स्थानीय तह उपनिर्वाचनको मतपरिणाम धमाधम आइरहेको छ।
यसपालि नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदमा चुनाव भएको थियो।
दुई जिल्ला समन्वय समिति प्रमुख र एउटा वडाध्यक्ष यसअघि नै निर्विरोध निर्वाचित भएका थिए।
आइतबार बिहान ११ बजेसम्म मतगणना भएका ३७ स्थानको मतपरिणाम आइसकेको छ। केही स्थानमा मतगणना जारी छ भने केहीमा मतगणना हुन बाँकी छ।
उदयपुरको बेलका नगरपालिका-९ को वडाध्यक्षमा मतगणना स्थगित भएको छ।
त्यहाँ दलहरूले बदर मतको संख्या बढाएको भन्दै मतगणना स्थगित भएको हो। दलका प्रतिनिधिहरूले आयोगको निर्देशिकाविपरीत सदर मतलाई पनि बदर गर्नुपर्छ भनेपछि आइतबार राति १ बजेदेखि मतगणना स्थगित भएको निर्वाचन अधिकृत मनोजप्रसाद गुप्ताले बताए।
आइतबार राति १० बजेदेखि सुरू गणनामा पाँच सय मत गणना हुँदा २२० मत बदर भएको थियो। अहिले विवाद सुल्झाउनका लागि सर्वदलीय बैठक बस्ने तयारी छ।
बेलका-२ को वडाध्यक्षमा एमालेबाट मोहन खड्का, कांग्रेसबाट नवराज बस्नेत, रास्वपाबाट तेजमान विश्वकर्मा र राप्रपाका टिकाप्रसाद फुयाल छन्।
रूकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्षको मतगणना सुरू भएको छ। त्यहाँ माओवादी केन्द्रकी नरपुरा बढाले सुरूवाती अग्रता लिएकी छन्। एमालेकी तुलाचन कांग्रेसको चुनाव चिह्न लिएर उम्मेदवार छिन्।
दोलखाको गौरीशंकर गाउँपालिकामा पनि मत गन्न बाँकी छ। त्यहाँ उपाध्यक्ष पदका लागि एमालेबाट उमा लुंगेली मगर शेर्पा, कांग्रेसबाट पासदिकी तामाङ, माओवादी केन्द्रबाट निमलेकी शेर्पा, रास्वपाबाट गोमा श्रेष्ठ र राप्रपाबाट मनकुमारी श्रेष्ठ उम्मेदवार छन्।
हुम्लाको सर्केगाड गाउँपालिकाको मतपरिणाम पनि आउन बाँकी छ। यहाँ बिहान साढे ११ बजेसम्म मतगणना सुरू भएको छैन।
सर्केगाडको उपाध्यक्षका लागि एमालेबाट जाना शाही, कांग्रेसबाट सविता बुढा, माओवादी केन्द्रबाट देवकी तिमिल्सिना, रास्वपाबाट बाँचा बुढा र राप्रपाबाट संगीता शाही उम्मेदवार छन्।