प्रधानमन्त्री केपी शर्मा ओली चार दिने भ्रमणका लागि चीन प्रस्थान गरेका छन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार बिहान प्रधानमन्त्री ओलीलाई उपप्रधानमन्त्रीसमेत रहेका सहकारी विकास मन्त्री प्रकाशमान सिंह र गृहमन्त्री रमेश लेखक मात्रै उपस्थित थिए। सहरी विकास मन्त्री सिंह कार्यवाहक प्रधानमन्त्रीको रुपमा विमानस्थलमा उपस्थित भएका हुन्।
यसअघि राष्ट्रपति वा प्रधानमन्त्री विदेश आउजाउ गर्दा विमानस्थलमा भिभीआइपी र भिआइपीहरूको लस्कर हुन्थ्यो। यसपालि गृह मन्त्रालयले कार्यविधि बनाएर भिभीआइपीको विदेश भ्रमण आउजाउमा तोकिएका व्यक्ति मात्रै उपस्थित हुने नियम बनाएको थियो।
प्रधानमन्त्री चीन जाँदा उपप्रधानमन्त्री सिंह र गृहमन्त्री मात्रै बिदाइमा पुगेका थिए। अरू मन्त्रीहरू गएनन्।
प्रधानमन्त्री विदेश जाँदा र विदेश भ्रमणबाट फिर्ता हुँदा कार्यवाहक प्रधानमन्त्री, गृहमन्त्री, परराष्ट्र मन्त्री, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री मात्र एयरपोर्ट गए पुग्ने व्यवस्था गरेको छ।
नयाँ कार्यविधि अनुसार प्रधानमन्त्रीको स्वागत र बिदाइमा रक्षा मन्त्रीसहित अन्य मन्त्रीहरू एयरपोर्ट जानुपर्ने छैन।
प्रधानमन्त्रीको स्वागत र बिदाइमा अबदेखि मुख्य सचिव, प्रधान सेनापति, परराष्ट्र मन्त्रालयका सचिव, सञ्चार मन्त्रालयका सचिव, प्रहरी महानिरीक्षक, सशस्त्र प्रहरी महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, शिष्टाचार महापाल र परराष्ट्र मन्त्रालयले आमन्त्रण गरेका विदेशी नियोगका प्रमुख उपस्थित हुनेछन्।
नयाँ नियमले प्रधानमन्त्रीको स्वागत र बिदाइमा सभामुख, राष्ट्रिय सभाका अध्यक्ष लगायतका विशिष्ट व्यक्तिहरूलाई एयरपोर्ट जानु नपर्ने व्यवस्था गरेको छ। यसअघि राष्ट्रपति वा प्रधानमन्त्रीको भ्रमणका बेला बिदाइ र स्वागतमा सभामुख, राष्ट्रिय सभा अध्यक्षलगायत भिभीआइपीहरू विमानस्थलमा पुग्ने गरेका थिए।
यो पनि: हट्ने भयो राष्ट्रपति र प्रधानमन्त्री विदेश आउजाउ गर्दा विमानस्थलमा लाग्ने भिभीआइपी र भिआइपीको भिड