प्रधानमन्त्री केपी शर्मा ओली चार दिने औपचारिक भ्रमणका लागि सोमबार बिहान चीन प्रस्थान गरेका छन्।
हिमालयन एअरलाइन्सको चार्टर्ड विमानबाट प्रधानमन्त्री ओली चीन प्रस्थान गरेका हुन्।
प्रधानमन्त्री ओलीसहितको प्रतिनिधिमण्डल सोमबार साँझ पाँच बजे चीनको बेइजिङ पुग्दैछ।
दुईपक्षीय भेटवार्ता भने मंगलबारमात्रै हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।
मंगलबार प्रधानमन्त्री ओलीले मंगलबार चीनका राष्ट्रपति सी चिनफिङ, प्रधानमन्त्री ली छ्याङ, चिनियाँ जनकंग्रेसका स्थायी कमिटी सदस्य झाओ लेजीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।
प्रधानमन्त्री ओलीले बुधबार पेकिङ युनिभर्सिटीमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले भ्रमणको एजेण्डा स्वीकृत गरेको थियो।
प्रधानमन्त्री ओलीको औपचारिक चीन भ्रमण तयारी गरिरहेको परराष्ट्र मन्त्रालयले संयुक्त वक्तव्यका दुई वटा प्रस्ताव तयार पारेको छ।
परराष्ट्र स्रोतबाट सेतोपाटीलाई प्राप्त जानकारीअनुसार कांग्रेस र एमाले मिलेर तयार पारेको ‘फ्रेमवर्क अन बिआरआई कोअपरेसन’ मा हस्ताक्षर भयो भने एउटा र भएन भने अर्को वक्तव्य निकाल्ने गरी दुई वटा मस्यौदा तयार पारिएको हो।
नेपाल र चीनका संयुक्त अधिकारीहरूले नै मस्यौदा तयार गरेको भएता पनि फ्रेमवर्क अन बिआरआई कोअपरसनमा छलफलका क्रममा कुरा मिल्न नसक्ने सम्भावना रहेको भन्दै दुई किसिमका वक्तव्यको मस्यौदा तयार पारिएको हो।
चीनसँगको सहकार्यमै फ्रेमवर्कको मस्यौदा तयार भएकाले हस्ताक्षर हुनेमा नेपाल पक्ष विश्वस्त छ।
‘छलफल गर्दै जाँदा एउटा-एउटा कुराले पनि अड्काउन सक्छ भनेर संयुक्त वक्तव्यका दुई वटा मस्यौदा तयार पारिएको हो,’ परराष्ट्र स्रोतले भन्यो।
कांग्रेस र एमालेका नेताहरू सम्मिलित कार्यदलले तयार पारेको फ्रेमवर्कको मस्यौदा नेपालस्थित चिनियाँ दूतावासमार्फत् चीनको परराष्ट्र मन्त्रालयमा पठाइसकिएको छ।
चीनले त्यसको जबाफ भने दिइसकेको छैन।
‘त्यसैले दुई किसिमको मस्यौदा तयार पारेका हौं,’ परराष्ट्र मन्त्रालयका एक उच्च अधिकारीले सेतोपाटीसँग भने, ‘अरू सबै एउटै विषय हुन् खाली फरक के मात्रै छ भने एउटामा फ्रेमवर्क अन बिआरआई कोअपरेसनमा हस्ताक्षर गर्यौं भनेर लेखिएको छ, अर्कोमा फ्रेमवर्क अन बिआरआई कोअपरेसनमा छलफल गर्दै जाने र निकट भविष्यमै हस्ताक्षर गर्ने भन्ने उल्लेख छ।’
तर चीनसँग पनि सल्लाह गरेर फ्रेमवर्क तयार पारेकाले यसपटक फ्रेमवर्कमा हस्ताक्षर हुने सम्भावना धेरै रहेको प्रधानमन्त्री केपी शर्मा ओलीनिकट स्रोतको भनाइ छ।
‘चीन भ्रमणबाट फर्किँदा परराष्ट्रमन्त्री आरजु राणा देउवाले पनि सकारात्मक मेसेज ल्याउनु भएको छ, प्रधानमन्त्रीज्यूले फ्रेमवर्कमा चिनियाँ पक्ष लचिलो भएको बिफ्रिङ गर्नुभएको छ,’ स्रोतले भन्यो, ‘त्यसैले फ्रेमवर्क अन बिआरआई कोअपरेसनमा हस्ताक्षर हुने सम्भावना धेरै छ।’
सन् २०१७ मा नेपालले बिआरआईसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरेको थियो। त्यसपछि बिआरआई इम्लिमेन्टेसन प्लानमा हस्ताक्षर गर्ने भनिए पनि हस्ताक्षर हुन सकेको थिएन।
प्रधानमन्त्री ओलीको सोमबारदेखि ४ दिनका लागि चीन भ्रमणको मिति तय भएसँगै इम्पिलिमेन्टेसन प्लानको मोडालिटीबारे छलफल गर्न प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, आर्थिक तथा विकास सल्लाहकार युवराज खतिवडा, नेपाली कांग्रेसका महामन्त्री गगन थापा र अधिवक्ता सेमन्त दाहाल सदस्य रहेको कार्यदल बनाइएको थियो।
सोही कार्यदलले बिआरआई इम्लिमेन्टेसन प्लानको नाम र त्यसका व्यवस्थाहरू परिवर्तन गरेर फ्रेमवर्क अन बिआरआई कोअपरेसन बनाएको थियो।
फ्रेमवर्कको प्रावधानलाई एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली र कांग्रेसका सभापति शेरबहादुर देउवाले ‘अनुमोदन’ गरेर मस्यौदा चीनको परराष्ट्र मन्त्रालयलाई पठाइसकिएको छ।
यी हुन् सरकारले स्वीकृत गरेका एजेण्डा
सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरूङका अनुसार सरकारले नेपाल सरकार र चिनियाँ सरकारबीच नेपालमा बोल्ने चिनियाँ भाषा विकास कार्यक्रम परिचालनका सम्बन्धमा तयार भएको समझदारी पत्र स्वीकृत गर्ने र उक्त समझदारी पत्रमा सम्बन्धित समकक्षी पदाधिकारीबाट हस्ताक्षर गरी कार्यान्वयन गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई अनुमति दिने निर्णय गरेको छ।
सरकारले प्रस्तावित २० मिलियन अमेरिकी डलर नगद अनुदान सहायता स्वीकार गर्ने सम्बन्धी आदानप्रदान पत्रको मस्यौदा स्वीकृत गर्ने, उक्त पत्रमा नेपाल सरकारको तर्फबाट हस्ताक्षर गर्न सचिव अर्थ मन्त्रालयलाई अख्तियारी प्रदान गर्ने, प्रस्तावित ३ सय मिलियन आरएमबी बराबरको आर्थिक तथा प्राविधिक अनुदान सहायता स्वीकार गर्ने सम्झौता स्वीकृत गर्ने,उक्त सम्झौतामा नेपाल सरकारको तर्फबाट हस्ताक्षर गर्न अर्थ मन्त्रालयका सचिवलाई अख्तियारी दिएको छ।
त्यस्तै सार्वजनिक सेवा प्रशारण संस्था नेपाल टेलिभिजन र रेडियो नेपाल र चाइना मिडिया ग्रुपबीच हुने समझदारी पत्र स्वीकृत गर्ने, उक्त समझदारी पत्रमा नेपाल सरकारको तर्फबाट परराष्ट्र मन्त्रालयलाई अख्तियारी दिने निर्णय भएको पनि प्रवक्ता गुरूङले बताए।
प्रधानमन्त्री ओलीको चीन भ्रमणका क्रममा काठमाडौं रिङरोड, अरनिको हाइवे, हिल्सा—सिमिकोट, आइसिडी, आइसिपी कोरला नाकामा आवश्यक पर्ने सबै सीमानाका व्यवस्थित गर्न चेक पोस्ट निर्माण गर्ने बारेमा पनि सहमति हुँदैछ।
यस्तै टोखा—छहरे सुरूङ मार्ग, जिलुङ—केरुङ—काठमाडौं क्रस बोर्डर रेल्वे प्राजेक्टको अध्ययन, खाँदबारी—किमाथांका सडकमा अरुण नदीमा मितेरी पुल बनाउने, चोभारमा मल्टिफङ्सनल क्वारेन्टाइन, कोरलामा औद्योगिक जोन बनाउने बारेमा पनि दुई देशबीच सहमति हुँदैछ।
यस्तै केरूङ-रसुवागढी-चिलिमे क्रसबोर्डर ट्रान्समिसन लाइन, काठमाडौं उपत्यकाको ट्रान्समिसन लाइनको स्तरउन्नति, मदन भण्डारी विश्वविद्यालय, झापामा रहेको औद्योगिक पार्क निर्माणको विषयमा पनि सहमति हुँदैछ।
यस्तै प्रधामन्त्री केपी शर्मा ओलीको औपचारिक भ्रमणका बेला चीनले प्रधानमन्त्री ओली र कांग्रेस सभापति शेरबहादुर देउवालाई एक-एकवटा परियोजना उपहार दिने भएको छ।
चीनले नै गरेको यस प्रस्तावमा नेपाल सरकारले समेत सहमति जनाइसकेको छ।
सोमबारदेखि मंसिर २० गतेसम्म हुने प्रधानमन्त्रीको चीन भ्रमणका बेला प्रधानमन्त्री ओलीको निर्वाचन क्षेत्र झापा-५ मा स्पोर्ट्स कम्प्लेक्स र पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निर्वाचन क्षेत्र डडेलधुरामा सभाहल बनाउने सम्झौतामा हस्ताक्षर हुँदैछ।