उदपुरको वेलका नगरपालिका वडा नम्बर ९ को मतगणना स्थगित भएको छ।
दलहरूले बदर मतको संख्या बढाएको भन्दै मतगणना स्थगित भएको हो।
दलका प्रतिनिधिहरूले आयोगको निर्देशिकाविपरीत सदर मतलाई पनि बदर गर्नुपर्छ भनेपछि आइतबार राति १ बजेदेखि मतगणना स्थगित भएको निर्वाचन अधिकृत मनोजप्रसाद गुप्ताले बताए।
'आयोगको निर्देशिकाअनुसार हामीले मतगणना गर्ने हो तर दलका प्रतिनिधिहरूले मतपत्रमा थोरै डट लाग्दा पनि त्यसलाई बदर मतमा गणना गर्नुपर्छ भन्नुभयो,' निर्वाचन अधिकृत गुप्ताले भने, 'एउटाकोमा डट हुँदा अर्कोले भन्ने र अर्कोको हुँदा फेरि अर्कोले भन्ने भएपछि बदर मतको संख्या बढ्यो। त्यसैले गणना स्थगित गर्यौं।'
आइतबार राति १० बजेदेखि सुरू गणनामा पाँच सय मत गणना हुँदा २२० मत बदर भएको थियो। अहिले विवाद सुल्झाउनका लागि सर्वदलीय बैठक बस्ने तयारी छ।
सर्वदलीय बैठकको निष्कर्षपछि मतगणना सुरू गर्ने निर्वाचन अधिकृत गुप्ताले बताए।
वेलका-९ मा वडाध्यका लागि उपनिर्वाचन भएको थियो। यो वडामा यसअघि नेपाली कांग्रेसका पदम खड्का विजयी भएका थिए। उनको सडक दुर्घटनामा मृत्यु भएको थियो। यसपालि भने वडाध्यक्षका लागि नेकपा एमालेबाट मोहन खड्का, कांग्रेसबाट नवराज बस्नेत, माओवादीबाट भरत घिमिरे र रास्वपाबाट तेजमान विश्वकर्मा चुनावी मैदानमा छन्।
यो वडामा जम्मा एक हजार ८८५ मत खसेको छ।