रूकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाको उपाध्यक्ष पदका लागि भएको उपनिर्वाचनको मतगणना सुरू भएको छ।
सोमबार बिहान पौने १० बजेदेखि मतगणना सुरू भएको हो।
उत्तरगंगा गाउँपालिकामा कुल १११३० मतदाता थिए।
मंसिर १६ गतेको उपनिर्वाचनमा ५९३२ मत मात्रै खसेको थियो। त्यो ५३.०३ प्रतिसत हुन्छ। आधा बढी मतदाता मतदानमा सहभागी भएका थिएनन्।
यो गाउँपालिकाको उपाध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र) बाट नरपुरा बुढा र नेपाली कांग्रेसको रुख चुनाव चिन्हबाट नेकपा (एमाले) की केशकुमारी तुलाचनका बीचमा प्रतिष्पर्धा भएको छ। कांग्रेसको रूख चिह्नबाट चुनावमा भिडेकी तुलाचन एमाले जिल्ला कमिटी उपसचिव हुन्।
मनोनयन दर्ता गराएपनि नेकपा (एमाले) की सुनिता बुढा मगर, स्वतन्त्र रूपमा कोपिला पुन बुढा, भिमकुमारी पुन, मोहनभक्त बुढा र श्रीदेवी सुना (विक) सबैले अन्तिममा आएर आ–आफ्नो उम्मेदवारी फिर्ता लिएका थिए।
उम्मेदवारी फिर्ता लिएका मध्ये अधिकांसले माओवादीकी उम्मेदवारलाई समर्थन गर्ने घोषणा गरेका थिए।
२०७९ को स्थानीय तह निर्वाचनमा गाउँपालिकाको उपाध्यक्ष माओवादी केन्द्रकी भूपेन्द्रा बुढा निर्वाचित भएकी थिइन्। भूपेन्द्राको गत भदौ २८ गते काठमाडौंबाट घर तर्फ आउँदै गर्दा सवारी दुर्घटनामा मृत्यु भएको थियो। अहिले उम्मेदवार बनेकी नरपुरा बुढा भूपेन्द्राकी दिदी हुन्।
पुथा उत्तरगंगा गाउँपालिका माओवादीको पकेट क्षेत्र मानिन्छ।
लुम्बिनी प्रदेशअन्तर्गत पाँच जिल्लाका ६ पदमा हुन लागेको निर्वाचनमा मतपरिणाम सार्वजनि कहुन बाँकी अब पुथा उत्तरगंगा गाउँपालिका मात्रै हो।
लुम्बिनीमा एक उपाध्यक्षसहित पाँच वडाध्यक्ष पदका लागि प्रतिष्पर्धा भएको थियो। अन्य सबै पाँच वडाध्यक्षको नतिजा सार्वजनिक भइसकेको छ।