काठमाडौं महानगरपालिकाको वडा नम्बर १६ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अग्रता लिएको छ।
पछिल्लो मतपरिणाम अनुसार रास्वपाकी उम्मेदवार रोजिना श्रेष्ठले ४९३ मत प्राप्त गरेकी छन्।
त्यस्तै नेकपा एमालेका उम्मेदवार लक्ष्मीरत्न तुलाधरले ३८४ र नेपाली कांग्रेसका देवेन्द्र पाठकले ३६९ मत प्राप्त गरेका छन्।
एकीकृत समाजवादीका मीन बहादुर मानन्धरले २०० मत पाएका छन्। यहाँ कुल १०५५८ मत खसेको थियो।
यसअघि यो वडामा कांग्रेसका मुकुन्द रिजाल चार हजार १९ मतसहित विजयी भएका थिए। एमालेका तुलाधरले त्यतिबेला ३३१० मत पाएका थिए।
काठमाडौं महानगरपालिका–१६ निर्वाचन क्षेत्र नम्बर ७ मा पर्छ। यस क्षेत्रबाट २०७९ सालको प्रतिनिधि सभाको चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुली निर्वाचित भएका थिए। उनी अहिले रास्वपाको निर्वाचन संयोजन समितिका संयोजक पनि हुन्।
प्रतिनिधि सभा निर्वाचनमा पराजुलीले ८ हजार ७ सय ४३ मत प्राप्त गरेका थिए। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका श्यामकुमार घिमिरेले ६ हजार ८०० मत प्राप्त गरेका थिए।
तेस्रो मत मानुषी यमी भट्टराईले प्राप्त गरेकी थिइन्। नेकपा माओवादी केन्द्रको चुनाव चिह्नबाट उम्मेदवारी दिएकी उनले ६ हजार ६३ मत प्राप्त गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टीका ध्रुवविक्रम मल्लले २ हजार ८६३ र स्वतन्त्र उम्मेदवार यादवलाल कायस्थले २ हजार ७ सय ८३ मत प्राप्त गरेका थिए।
काठमाडौं ७ मा नेपाली कांग्रेस र माओवादी केन्द्रले साझा उम्मेदवारका रूपमा मानुषी यमीलाई अघि सारेका थिए।
समानुपातिकतर्फ भने रास्वपाले उल्लेख्य मतले एमाले, कांग्रेसलगायत दललाई पछि छाडेको थियो। रास्वपाले काठमाडौं ७ बाट १० हजार ५ सय ८८ मत प्राप्त गरेको थियो। एमालेले ६ हजार २ सय ९९ मत ल्याएको थियो। कांग्रेसले ५ हजार ४० मत प्राप्त गर्दा राप्रपाले ४ हजार ६२९ मत ल्याएको थियो।
एकीकृत समाजवादीले २ हजार २ सय ७८, हाम्रो नेपाली पार्टीले १ हजार ६ सय ७२, माओवादी केन्द्रले १ हजार ६ सय ६८ र जनता समाजवादी पार्टीले १ हजा र ४ सय ७ मत ल्याएका थिए।