स्थानीय तह उपनिर्वाचनअन्तर्गत कर्णाली प्रदेशका निर्वाचन हुने सबै ठाउँमा मतदान सकिएको छ।
आइतबार बेलुका मतदानका लागि निर्धारण गरिएको समयभन्दा केही ढिला गरी मतदान सम्पन्न भएको हो। कतिपय वडाको मतदान भने निर्धारित समयमै सम्पन्न भएको थियो।
कर्णाली प्रदेशका पालिकास्तरका अध्यक्ष, उपाध्यक्ष र उपमेयरका लागि तीन ठाउँमा निर्वाचन भएको छ भने पाँच जना वडाध्यक्षका लागि विभिन्न पालिकाका पाँच वडामा निर्वाचन भएको छ।
उपमेयर पदका लागि जाजरकोटको नलगाड नगरपालिकामा, उपाध्यक्षका लागि हुम्लाको सर्केगाड गाउँपालिकामा र अध्यक्षका लागि दैलेखको महाबु गाउँपालिकामा मतदान भएको हो।
रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–५, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–५, जाजरकोटको कुशे गाउँपालिका–७, दैलेखको दुल्लु नगरपालिका–१३ र कालीकोटको तिलागुफा नगरपालिका–४ मा वडाध्यक्ष पदका लागि मतदान भएको छ।
यी पदका लागि मतदान गर्न ६३ वटा मतदान केन्द्र तोकिएका थिए।
जिल्ला निर्वाचन कार्यालय जाजरकोटका अनुसार उपमेयर पदका लागि नलगाड नगरपालिकामा भएको निर्वाचनमा १० हजार ६२२ मत खसेको छ। जसमध्ये ५ हजार २९९ जना महिला र ५ हजार ३२३ जना पुरुष मतदाता रहेका छन्।
नगरपालिकाभित्र कुल मतदाता १६ हजार ४४९ जना रहेकोमा उपनिर्वाचनमा ६४.५ प्रतिशत मत खसेको हो।
सर्केगाड गाउँपालिकाको उपाध्यक्ष पदका लागि भएको निर्वाचनमा ४ हजार ५२४ मत खसेको छ। यो कुल मतदाता संख्याको ६६.४ प्रतिशत हो। गाउँपालिकामा कुल मतदाता ६ हजार ८१० जना रहेका छन्।
दैलेखको महाबु गाउँपालिकाको अध्यक्ष पदका लागि भएको निर्वाचनमा कुल मतदाता संख्याको ५५.४ प्रतिशत मत खसेको छ। कुल मतदाता १२ हजार ६१४ मध्ये ६ हजार ९८९ जना मतदानमा सहभागी भएका छन्।
उनका अनुसार मतदानमा सहभागीमध्ये महिला ३ हजार ९७९ रहेका छन् भने पुरुष ३ हजार १० जना रहेका छन्।
कालीकोटको तिलागुफा नगरपालिका–४ को वडाध्यक्ष पदका लागि भएको निर्वाचनमा ४११ मत खसेको छ। जसमध्ये २१७ जना महिला र १९४ जना पुरुष मतदानमा सहभागी भएका छन्। वडामा रहेका कुल मतदाता संख्याको ६४.४ प्रतिशत मत खसेको हो। वडामा ६०९ जना मतदाता रहेका छन्।
जाजरकोटको कुशे गाउँपालिका–७ मा वडाध्यक्ष पदका लागि भएको निर्वाचनमा ९५६ अर्थात् ७३.४ प्रतिशत मत खसेको छ। जसमा ४८० जना महिला र ४७६ जना पुरुष मतदानमा सहभागी भएका हुन्। यो वडामा कुल एक हजार ३०२ जना मतदाता छन्।
रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–५ मा वडाध्यक्ष पदका लागि भएको मतदातमा ४०.५ प्रतिशत अर्थात ५८२ मत खसेको छ। जम्मा मतदाता १ हजार ४३४ रहेको यो वडामा आइतबार भएको निर्वाचनका क्रममा ३२५ जना महिला र २५७ जना पुरुष सहभागी भएका छन्।
डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–५ मा भएको निर्वाचनमा ८५.८ प्रतिशत मतदाता मतदानमा सहभागी भएको सहायक निर्वाचन अधिकृत हरि गोपाल ज्ञवालीले जानकारी दिए। कुल मतदाता ३५३ रहेको यो वडाको अध्यक्ष पदका लागि भएको निर्वाचनमा ३०३ जनाले मतदान गरेका हुन्। जसमध्ये १५८ जना महिला र १४५ जना पुरुष रहेका छन्।
दुल्लु नगरपालिका–१३ मा वडाध्यक्ष पदका लागि भएको निर्वाचनमा १ हजार ५२८ जनाले मतदान गरेका छन्। कुल मतदाता २ हजार ७०६ रहेको वडामा ५६.४ प्रतिशत मतदाता मतदानमा सहभागी भएका हुन्। जसमध्ये ८५० जना महिला र ६७८ जना पुरुष रहेका छन्।
पद रिक्त रहेर आइतबार निर्वाचन भएका कर्णालीका यी ठाउँमा विभिन्न दलबाट र स्वतन्त्र उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्।
जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुख पदका लागि हुने निर्वाचनमा ६ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।
हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्ष पदको लागि ६ जना उम्मेदवार चुनावी मैदानमा छन् भने दैलेखको महाबु गाउँपालिकाको अध्यक्ष पदका लागि ७ जना उम्मेदवार छन्।
दैलेखकै दुल्लु नगरपालिका–१३ को वडाध्यक्ष पदका लागि ६ जना, कालीकोटको तिलागुफा नगरपालिका–४ मा पनि वडाध्यक्ष पदका लागि ६ जना, रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–५ मा वडाध्यक्ष पदका लागि ४ जना, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–५ को वडाध्यक्ष पदका लागि ४ जना र जाजरकोटको कुशे गाउँपालिका–७ को वडाध्यक्ष पदका लागि ४ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।