नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले एमाले महासचिव शंकर पोखरेलले आफ्ना अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई लक्षित गरी हरूवाहरूले सरकार चलाउने युगको अन्त्य भएको भन्दै दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्।
रोल्पाको माडी गाउँपालिकाको पार्टी अधिवेशनलाई आइतबार सम्बोधन गर्दै पुनले पोखरेलको भनाइप्रति आपत्ति जनाएका हुन्।
उनले आफ्ना नेता रेखा शर्मासँग ०७९ को आमनिर्वाचनमा दाङ निर्वाचन क्षेत्र नम्बर–२ बाट पराजित भएका पोखरेलले गोरखा–१ बाट निर्वाचित प्रचण्डलाई हरूवा भनेकामा आश्चर्य प्रकट गरे।
‘हाम्रो अध्यक्ष प्रचण्ड ०६४ यताको कुनै पनि निर्वाचनमा पराजित हुनुभएको छैन। १८ महिनासम्म संसदमा बहुमत जुटाएर सरकार चलाएको हो,’ पुनले भने, ‘शंकरजी अस्ती भर्खरै हाम्रो पार्टीको नेता रेखा शर्माजीसँग हार्नुभएको सबैलाई थाहा छ।’
पुनले पोखरेलले ०७० सालमा देशैभर कांग्रेस र एमालेले जितेको र एमालेको पक्षमा उभार भएका बेला पनि गृह जिल्लामा चुनाव हारेको चर्चा गर्दै ‘हरुवा’ ले लाजै पचाएर अरुलाई हरुवा भन्नु हाँस्यास्पद भएको टिप्पणी गरे।
‘०७० मा देशभर एमालेको पक्षमा उभार हुँदा पनि आफ्नै जिल्लामा हार्ने शंकरजी होइन? ०७९ मा हारेको अस्ति भर्खरै होइन?,’ उनले भने, ‘अनी उहाँ नै हरूवाहरूले सरकार चलाएर हैरान पारे। हरूवाले सरकार चलाउने युगको अन्त्य गर्छौं। मानिसहरू जो पनि बोल्न सक्दा रहेछन्। कस्तो लाज नभएको?’
पोखरेलले कांग्रेस र एमाले मिलेपछि प्रगतिशील र कम्युनिष्ट विचारधाराका दलहरूलाई सकाउन सकिन्छ भन्दै दुई दलीय व्यवस्थाको वकालत गर्दै हिँडेकामा पनि उनले टिप्पणी गरे।
‘खासमा उहाँले कांग्रेस–एमालेको दुई दलीय व्यवस्थाको होइन। कांग्रेस–एमाले पुँजीपति वर्गको पार्टी हो भन्न खोज्नुएको हो,’ पुनले भने, ‘जनताको पार्टी हाम्रो हो।’