नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय तह उपनिर्वाचन निष्पक्ष, धाँधलीरहित र उत्साहपूर्ण रूपमा सम्पन्न भएकोमा धन्यवाद दिएका छन्।
आइतबार ३३ जिल्लामा उपनिर्वाचन भएको थियो।
उपनिर्वाचन सकिएपछि सभापति देउवाले विज्ञप्ति जारी गर्दै कांग्रेसका तर्फबाट सबैलाई धन्यवाद दिएका हुन्।
‘देशका विभिन्न पालिकामा रिक्त पदहरूका लागि आज भएको उपनिर्वाचनमा नेपाली दिदीबहिनी तथा दाजुभाइहरूले अत्यन्त उत्साह र धैर्यसाथ आफ्नो अमूल्य मत दिनु भएको छ। आजको उपनिर्वाचनमा उत्साहपूर्ण र सक्रिय सहभागिता, सहयोग र समर्थनले लोकतन्त्रप्रति नागरिक विश्वासलाई थप प्रमाणित गरेको छ। यो विश्वास कायम राख्ने ढंगले कार्य गर्न सरकार र राजनीतिक दलहरूलाई थप प्रेरणा मिलेको छ,’ सभापति देउवाले भनेका छन्।
शान्तिपूर्ण एवं भयरहित वातावरणमा निष्पक्ष, धाँधलीरहित र उत्साहपूर्ण रुपमा उपनिर्वाचन सम्पन्न गराउन सफल भएकोमा नेपाल सरकार र निर्वाचन आयोगलाई सभापति देउवाले धन्यवाद दिएका हुन्।