स्थानीय तह उपनिर्वाचनको मतदान सकिएको छ।
आइतबार बिहान ७ बजेदेखि अपरान्ह ५ बजेसम्म भएको मतदान कोशी प्रदेशमा शान्तिपूर्ण रूपमा सम्पन्न भएको प्रदेश निर्वाचन कार्यालयले जानकारी दिएको छ।
कार्यालयका प्रमुख चोलाराज दंगालले दिएको जानकारी अनुसार मोरङको ग्रामथान गाउँपालिका अध्यक्षसहित प्रदेशका ८ ठाउँमा आइतबार उपनिर्वाचन भएको थियो। एक जना पालिका प्रमुख र बाँकी ७ जना वडाध्यक्षका लागि कोशीका ६ जिल्लामा मतदान भएको हो।
प्रदेश निर्वाचन कार्यालयका अनुसार ग्रामथान गाउँपालिकामा १८ हजार ५७७ मत खसेको छ। २६ हजार ४४ जना मतदाता रहेको ग्रामथानमा कूल ७१.३२ प्रतिशत मत खसेको छ।
ग्रामथानमा राजनीतिक दलबाट १५ जना र स्वतन्त्र १ जना गरी १६ जना उम्मेदवार चुनावी प्रतिष्पर्धामा छन्। ७ वटा वडा रहेको ग्रामथानमा १२ मतदानस्थल र २९ मतदान केन्द्र कायम गरिएको थियो।
मतदान सकिएसँगै मतपेटिका संकलनको काम सुरू भएको मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए। उनका अनुसार मतपेटिका संकलन सकिएपछि मतगणना सुरू गरिने छ।
वडाध्यक्षका लागि भएको मतदानमा ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–३ मा ८९१ अर्थात ५८.३१ प्रतिशत मत खसेको छ।
झापाको कनकाइ नगरपालिका-६ मा १५१३ (७३.५१ प्रतिशत), तेह्रथुमको लालिगुराँस नगरपालिका–८ मा ९२३ (६२.३२ प्रतिशत), सुनसरीको गढी गाउँपालिका-६ मा २६४५ (७३.०२ प्रतिशत) मत खसेको निर्वाचन कार्यालयले जानकारी दिएको छ।
यसैगरी ओखलढुंगाको मोलुङ गाउँपालिका ५ मा ७६८ (५७.९६ प्रतिशत), उदयपुरको त्रियुगा नगरपालिका-१२ मा २५२७ (६५.६८ प्रतिशत) र उदयपुरकै बेलका नगरपालिका-९ को वडाध्यक्षमा १८८५ मत अर्थात ६०.१० प्रतिशत मत खसेको छ।