कर्णाली प्रदेशका ६३ वटा मतदान केन्द्रमा आठ पदका लागि निर्वाचन भइरहेको छ।
कर्णालीका पालिका र वडाका ८ जना जनप्रतिनिधि चयनका लागि आइतबार मतदान भइरहेको हो।
कर्णालीमा जाजरकोटको नलगाड नगरपालिकको उपप्रमुख, दैलेखको महाबु गाउँपालिकाको अध्यक्ष, हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्ष, दैलेखको दुल्लु नगरपालिका–१३ को वडाध्यक्ष, कालीकोटको तिलागुफा नगरपालिका–४ को वडाध्यक्ष, जाजरकोटको कुशे गाउँपालिका–७ को वडाध्यक्ष, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–५ को वडाध्यक्ष र रुकुमपश्चिमको सानीभेरी गाउँपालिका–५ को वडाध्यक्षका लागि मतदान भइरहेको छ।
जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुख पदका लागि हुने निर्वाचनमा १६ मतदानस्थल र २४ मतदान केन्द्र तोकिएको छ। यहाँ ६ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।
जाजरकोटकै कुशे गाउँपालिका– ७ को वडाध्यक्ष पदका लागि हुने निर्वाचनमा एक मतदानस्थल र दुई मतदान केन्द्र तोकिएको छ। यहाँ चार जना उम्मेदवार छन्।
दैलेखको महाबु गाउँपालिकाको उपाध्यक्षका लागि भइरहेको मतदानका लागि ९ वटा मतदानस्थल र १६ मतदान केन्द्र तोकिएका छन्।
महाबुको अध्यक्ष पदका लागि सात जना उम्मेदवार चुनावी मैदानमा छन्। दैलेखकै दुल्लु नगरपालिका– १३ को वडाध्यक्ष पदका ६ जना उम्मेदवार छन्। यहाँ दुई मतदानस्थल र चार वटा मतदान केन्द्र तोकिएको छ।
हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्ष पदका लागि हुने निर्वाचनमा १२ वटा मतदानस्थल र १३ वटा मतदान केन्द्र रहेका छन्।
सर्केगाडको उपाध्यक्षका लागि ६ जना उम्मेदवार छन्। कालीकोटको तिलागुफा नगरपालिका–४ मा पनि वडाध्यक्ष पदका लागि निर्वाचन हुँदै छ। यहाँ एक मतदानस्थल र एक मतदान केन्द्र रहेको छ भने वडाध्यक्षका लागि ६ उम्मेदवार चुनावी मैदानमा छन्।
त्यस्तै रुकुम पश्चिमको सानीभेरी गाउँपालिका– ५ मा वडाध्यक्ष पदका लागि हुने निर्वाचनमा एक मतदानस्थल र दुई वटा मतदान केन्द्र तोकिएको छ। सानीभेरी– ५ को वडाध्यक्ष पदका लागि चार जना उम्मेदवार छन्।
डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–५ को वडाध्यक्ष पदका लागि हुने निर्वाचनमा एक मतदानस्थल र एक मतदान केन्द्र तोकिएको छ। यहाँ चार जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।