कीर्तिपुरमा मतदान जारी छ।
आइतबार बिहान ७ बजेदेखि सुरू भएको मतदान शान्तिपूर्ण तवरबाट सञ्चालन भइरहेको काठमाडौंका जिल्ला निर्वाचन अधिकारी ठाकुरप्रसाद भट्टराईले जानकारी दिए।
कीर्तिपुरको मेयर र दुई वडाध्यक्षका लागि मतदान भइरहेको छ।
बिहान साढे १० बजेसम्म ४५ सय हाराहारीमा मत खसेको कीर्तिपुरक निर्वाचन अधिकृत इन्दिरा कार्कीले जानकारी दिइन्।
उपनिर्वाचनका लागि कुल ३१ हजार ११२ मतदाता रहेको निर्वाचन अधिकृत कार्कीले बताइन्। यसअनुसार कीर्तिपुरमा करिब १५ प्रतिशत मतदान भएको छ।
कीर्तिपुरमा १० वडा, २० मतदानस्थल र ३८ मतदान केन्द्र छन्।
'मतदानका लागि मतदाताहरू आइरहनुभएको छ। शान्तिपूर्ण तवरले सञ्चालन भइरहेको छ,' उनले भनिन्।
मतदान साँझ ५ बजेसम्म सञ्चालन हुनेछ।
मतदान सकिएलगत्तै मतगणना सुरू गर्ने तयारी छ। कीर्तिपुर नगरपालिकाको सभाहलमा मतगणना हुनेछ।
कीर्तिपुर मेयरमा नेपाली कांग्रेस र नेकपा (एमाले) एक्लाएक्लै प्रतिस्पर्धामा छन्।
नेकपा (माओवादी केन्द्र) ले एकीकृत समाजवादी र अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीको साथ लिएर उम्मेदवारी दिएको छ।
कीर्तिपुर नगरपालिकाको मेयरका लागि कांग्रेसबाट कृष्णमान डंगोल, एमालेबाट सुरेन्द्र मानन्धर र माओवादी केन्द्रबाट शिवशरण महर्जन उम्मेदवार छन्।
स्वतन्त्र उम्मेदवारहरूमा राजमान महर्जन, नरेश श्रेष्ठ लगायत छन्।