खानेपानी मन्त्री प्रदीप यादवले नेपाल सरकार हरेक डोल्पाबासी नागरिकका आधारभूत आवश्यकता पूरा गर्न कटिबद्ध रहेको बताएका छन्।
नेपालको उच्च हिमाली जिल्ला डोल्पाको ठूलोभेरी नगरपालिका–६ दूरगाउँ काएखोलीमा निर्माण गरिएको खानेपानी तथा सरसफाइ योजनाको आज शनिबार उद्घाटन गर्दै मन्त्री यादवले डोल्पाबासी आम नागरिकका हरेक आवश्यकता पूरा गर्नका लागि नेपाल सरकार सधैं तत्पर र कटिबद्ध रहेको बताए।
'सरकारले हरेक डोल्पाली नागरिकको आधारभूत आवश्यकता पूरा गर्न कटिबद्ध छ, खानेपानीका यस्ता योजनाहरूले डोल्पा सहितका नेपालका अन्य दुर्गम क्षेत्रका जनताको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउने छ,' उनले भने।
आज उद्घाटन गरिएको उक्त खानेपानी आयोजनाले स्थानीयवासीको दीर्घकालीन आवश्यकता पूरा गर्दै स्वच्छ खानेपानीको पहुँच सुनिश्चित गर्न महत्वपूर्ण कोसेढुङ्गा साबित हुने मन्त्री यादवले विश्वास व्यक्त गरे।
मन्त्री यादवले डोल्पाबासी आम नागरिकहरूको सहकार्य एवं सहयोगबाट डोल्पा जिल्लामा खानेपानी आयोजनाका कामहरूमा राम्रो उपलब्धि सम्भव भएको भन्दै धन्यवाद समेत व्यक्त गरे।
यसैगरी मन्त्री यादवले आजै डोल्पाको ठूलीभेरी नगरपालिकामा खानेपानी मन्त्रालयको समन्वयमा स्थापित ठूलीभेरी नगरपालिका–७ जुफालमा रहेको ग्रामीण खानेपानी सेवा सहायता केन्द्रको समेत उद्घाटन गरेका छन्।
स्थानीय समुदायको जीवनस्तर सुधार गर्न, स्वास्थ्य समस्याहरू कम गर्न र पानीको दिगो व्यवस्थापनमा शुद्ध र स्वच्छ खानेपानीका आयोजनाले महत्वपूर्ण योगदान दिने मन्त्री यादवले बताए।