मधेसका गृह सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीले रकम माग गर्दै भूमिगत सशस्त्र समूहको नामबाट धम्की आएको दाबी गरेका छन्।
शुक्रबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी उनले जयकृष्ण गोइत नेतृत्वको जनतान्त्रिक तराई मुक्तिमोर्चाको नामबाट धम्की आएको खुलाएका हुन्।
गत मंसिर १२ गते ह्वाट्सएपमार्फत भारतीय नम्बरबाट फोन गरी पैसा नदिए ‘तह लगाउँछु’ भन्दै धम्की दिएको उनको दाबी छ।
उनका अनुसार पैसाकै लागि गोइतले तेस्रो पटक फोन गरेका हुन्।
‘धम्की आएको विषयमा मैले मुख्यमन्त्री र प्रहरीलाई जानकारी गराइसकेको छु। अन्य मन्त्रीहरूलाई पनि पैसाका लागि धम्की आउने गरेको कुरा मैले प्रहरीबाट जानकारी पाएको छु,’ उनले भने।
गृह तथा सञ्चार मन्त्रालयमा बसेको प्रदेश सुरक्षा समितिको बैठकमा पनि बिहीबार मन्त्री लेखीले राष्ट्रिय अनुसन्धान र नेपाल प्रहरीका अधिकारी सामु यसबारे बताएपछि आफूले थाहा पाएको मधेस प्रदेशका प्रहरी प्रमुख डिआइजी लालमणि अचार्यले बताए।
‘गृहमन्त्रीज्यू र गोइतको घर एकै ठाउँमा छ। बिरामी छु पैसा पठाइदेऊ भनेर धम्की दिएको कुरा आएको छ। हिजैदेखि हामी यसबारे के हो बुझ्दैछौं। अरूलाई पनि धम्की आएको बुझिन आएको छ। तर अन्य मन्त्रीलाई धम्की आएको जानकारी भएन,’ उनले भने।
प्रहरीका अनुसार गोइत अहिले भारतमा लुकिछिपी बस्दै आएका छन्।