प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी गौतम बुद्धको जन्मस्थल मात्र नभई बुद्धिजमको मुहान भएको बताएका छन्।
शुक्रबार लुम्बिनी बौद्ध विश्वविद्यालयको २० औं बार्षिकउत्सव तथा तेस्रो दीक्षान्त सभामा बोल्दै विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीले बुद्धिजमको मुहान पवित्र स्थल लुम्बिनीको संरक्षण र विकासमा सरकार लागेको बताए।
उनले आफू पहिलो पटक प्रधानमन्त्री हुँदा बुद्धजयन्तीको कार्यक्रम हावापानीले विथोलिएकै कारण अहिले सुविधा सम्पन्न अन्तर्राष्ट्रिय स्त्तरको सभाहलको निर्माण भएको स्मरण गर्दै कुनै पनि समस्या आयो भन्दैमा त्यसबाट भाग्न नहुने बताए।
‘गौतम बुद्धले पनि चार वटा समस्याको खोजिका लागि हिँड्दा बुद्धत्व प्राप्त गर्नुभएको थियो, हाम्रो जीवनमा पनि कुनै पनि समस्या आइपरे भाग्ने होइन समाधान खोज्ने हो,’ उनले भने।
यसैबीच लुम्बिनी बौद्ध विश्वविद्यालयले भिक्षुणी धम्मावती गुरुमालाई मानार्थ विद्यावारिधि प्रदान गरेको छ। कुलपति ओलीले उक्त उपाधि प्रदान गरेका हुन्।
प्रधानमन्त्री ओलीले विभिन्न संकायमा उपाधिप्राप्त दुई सय ८९ जनालाई दीक्षित गरेका हुन्। तीमध्ये पाँच जनालाई विद्यावारिधिको उपाधि प्रदान गरेका हुन्।
ललितपुर वडा नम्बर ६ पकुहवामा जन्मिएर ९१ वर्षीय गुरूमा धम्मावतीले बौद्ध धर्म, दर्शन र शिक्षाको विकासमा दिएको अतुलनीय योगदानप्रति सम्मान गर्दै मानार्थ विद्यावारिधिको उपाधि प्रदान गरिएको विश्वविद्यालयका रजिस्ट्रार तिलकराम आचार्यले जानकारी दिए।
मानार्थ विद्यावारिधिको उपाधि ग्रहण गर्दै गुरूमा धम्नावतीले बौद्ध धर्मको प्रचार प्रसारको लागि आफूले गरेको योगदानको सम्मान गरेकोमा बौद्ध विश्वविद्यालयप्रती आभार व्यक्त गरेकी छन्।