माओवादी केन्द्रका सांसद माधव सापकोटाले नेपालले जलविद्युत् परियोजनामार्फत् क्षेत्रीय साझेदारीलाई थप सुदृढ पार्दै दिगो विकास र जलवायु संकटका चुनौतीहरूसँग जुध्न योगदान गरिरहेको बताएका छन्।
इन्डोनेसियाको राजधानी जाकार्तामा जारी ‘ग्रीन साउथ एलायन्स इनर्जी ट्रान्जिसन सम्मेलन’ मा नेपाली प्रतिनिधिमण्डलका तर्फबाट सम्बोधन गर्दै सापकोटाले नेपालको जलवायु नेतृत्व, ऊर्जा रूपान्तरण र क्षेत्रीय सहकार्यका विषयमा धारणा व्यक्त गरे।
‘पार्लियामेन्टेरियन ग्रुप अफ क्लिन एयर’ (पिजिसिए) का लागि अन्तर्राष्ट्रिय संसदीय समूहको नेपाल च्याप्टरका सह–अध्यक्ष समेत रहेका सांसद सापकोटाले नेपालले जलवायु परिवर्तनका चुनौतीहरू सामना गर्न गरेको प्रतिबद्धता, स्वच्छ ऊर्जा उत्पादनको महत्वाकांक्षा र क्षेत्रीय सहकार्यका सम्भावनाहरूको चर्चा गरेका थिए।
नेपालले सन् २०५० सम्म शून्य कार्बन उत्सर्जन गर्ने प्रतिबद्धता व्यक्त गरेको स्मरण गराउँदै उनले जलवायु अनुकूलन रणनीतिले स्थानीयस्तरमा समुदायलाई सशक्त बनाउँदै दिगो विकासको बाटोमा अघि बढ्न प्रेरित गरेको बताए।
नेपालका ६ हजार बढी नदीहरूमा वार्षिक २ सय २० अर्ब घनमिटर पानी प्रवाह गर्ने क्षमता रहेको बताउँदै सापकोटाले सन् २०३५ सम्म २८ हजार मेगावाटभन्दा बढी स्वच्छ ऊर्जा उत्पादनको लक्ष्य रहेको जानकारी गराए।
सापकोटाले स्वदेशमा प्रयोग गरेर बढी भएको बिजुली छिमेकी राष्ट्रहरूमा समेत निर्यात थालिएको बताए।
भारतमा १० हजार मेगावाट र बंगलादेशमा तत्कालका लागि ५० मेगावाट विद्युत निर्यात गर्ने सम्बन्धी सम्झौता भइसकेको उनको भनाइ थियो।
नेपालको जलविद्युत् विकासले क्षेत्रीय ऊर्जा साझेदारीलाई सुदृढ बनाइरहेको उनको भनाइ थियो।
जलविद्युत परियोजनाहरूले रोजगारी सिर्जना गर्ने, पूर्वाधार विकास गर्ने र समतामूलक विकासलाई सहयोग गर्ने चर्चा पनि उनले गरे।
ऊर्जा रूपान्तरण प्राविधिक चुनौती मात्र नभई यो समावेशी र दिगो भविष्य सुनिश्चित गर्ने अवसर समेत भएको विचार उनले व्यक्त गरे।
दक्षिण र दक्षिणपूर्व एसियामा स्वच्छ ऊर्जा प्रवर्द्धन गर्न आधुनिक प्रविधि, प्राविधिक विशेषज्ञता र वित्तीय स्रोतको सहज पहुँचको आवश्यकतामाथि उनले जोड दिए।
ऊर्जा रूपान्तरण प्रक्रियामा साना देशहरूको भूमिका महत्त्वपूर्ण हुने भन्दै उनले सहकार्यका लागि आह्वान गरे।