काठमाडौंको कीर्तिपुरमा बिहीबार नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ले छुट्टाछुट्टै चुनावी सभा गर्दैछन्।
मंसिर १६ गते कीर्तिपुर नगरपालिकाको प्रमुख पदका लागि उपनिर्वाचन हुँदैछ। चुनावी प्रचारप्रसारको अन्तिम दिन आज ठूला दलहरूले चुनावी सभा गर्न लागेका हुन्।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले भने बुधबार नै चुनावी सभा गरिसकेको छ।
कीर्तिपुरमा विभिन्न पार्टीहरू र स्वतन्त्र उम्मेदवार गरी १९ जना चुनावी मैदानमा छन्।
कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले लोकतान्त्रिक चोक कीर्तिपुरमा हुने चुनावी सभालाई बिहीबार सम्बोधन गर्ने कार्यक्रम छ।
एमालेले कीर्तिपुरको पाँगामा चुनावी सभा गर्दैछ। बिहीबार दिउँसो महासचिव शंकर पोखरेललगायतले उक्त चुनावी सभालाई सम्बोधन गर्नेछन्।
साथै माओवादीले पनि कीर्तिपुरको नगाउँ दोबाटोमा चुनावी सभा गर्दैछ। सभालाई अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) लगायतले सम्बोधन गर्नेछन्। यहाँ माओवादीका उम्मेदवारलाई एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले समर्थन गरेको छ।
बिहीबार राति १२ बजेदेखि चुनावी प्रचारप्रसार गर्न पाइँदैन, मौन अवधि सुरू हुन्छ। चुनावी प्रचारप्रचारको अन्तिम दिन दलहरूले कोणसभालाई सम्बोधन गर्न लागेका हुन्।
मंसिर १६ गते ३३ जिल्लाका रिक्त ४४ पदका लागि स्थानीय तह उपनिर्वाचन हुँदैछ।
यीमध्ये जिल्ला समन्वय समिति कैलाली र ओखलढुंगामा कांग्रेस उम्मेदवार निर्विरोध निर्वाचित भइसकेका छन् भने रूकुमपूर्वको पुथा उत्तरगंगा २ मा माओवादीका उम्मेदवार निर्विरोध भइसकेका छन्।