सहकारी ठगी र संगठित अपराध कसुरमा कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आइतबार पुनः म्याद थपका लागि अदालत उपस्थित गराइएको छ।
लामिछानेमाथि अनुसन्धान गर्न यसअघि कात्तिक २५ गते १३ दिन म्याद थप भएको हो। आइतबार पाँचौंपटक म्याद थपका लागि लामिछानेलाई अदालत उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी बसन्तकुमार शर्माले जानकारी दिए।
कात्तिक २ गते पक्राउ परेका लागिछानेमाथि अनुसन्धान गर्न अदालतले प्रहरीलाई पहिलो पटक ६ दिन, दोस्रो पटक ७ दिन र तेस्रो पटक १० दिनको समय दिएको थियो।
त्यसबीचमा रूपन्देहीमा पक्राउ पुर्जी जारी भएपछि लामिछानेलाई रूपन्देही लगेर बयानसमेत लिइएको थियो।
उनीविरूद्ध काठमाडौं जिल्ला अदालतबाट पनि पक्राउ पुर्जी जारी भएको छ। प्रहरीले लामिछानेसहित तीन जनाविरूद्ध पक्राउ पुर्जी जारी भएकोमा पूर्वडिआइजी छबिलाल जोशी र कुमार रम्तेललाई काठमाडौं ल्याएर बयान लिइसकेको छ।
छबिलाल जोशीलाई शुक्रबार मात्रै कास्की फिर्ता गरिएको थियो।
लामिछानेलाई पनि काठमाडौं ल्याउने तयारी छ। यद्यपि काठमाडौं प्रहरीबाट अहिलेसम्म कुनै जानकारी नआएको कास्कीका डिएसपी शर्माले बताए।
'आज म्याद थप हुन्छ, काठमाडौं पठाउनका लागि उताबाट जानकारी आइसकेको छैन,' डिएसपी शर्माले भने।
यो पनिः यसरी नै कति दिन हिरासतमा राख्न सक्छ प्रहरीले रवि लामिछानेलाई?